काठमाडौं, १७ माघ । वन तथा भू संरक्षणमन्त्री महेश आचार्यले वार्ता र सम्वादबाटै संविधानसभाको अवरोध छिट्टै अन्त्य हुने बताउनुभएको छ ।
जनतालाई दिएको वाचा र प्रतिबद्धता अनुसार संविधान माघ ८ मा बनाउन नसकिएपनि पछिल्लो गतिरोध वार्ताबाटै समाधान हुने उहाँले बताउनुभयो । ‘सत्तारुढ कांग्रेस एमाले सहमतीका लागि तयार छन्,’ उहाँले भन्नुभयो, ‘विपक्षीले विनाशर्त संविधानका लागि सहमतीमा आउनुको विकल्प छैन् ।’
दलहरुबीच सहमतिको सम्भावना कायमै रहेकोले छिट्टै संविधान जारी हुने उहाँको विश्वास छ । ‘एमाओवादी लगायतका दलले जनतासंग गरेको वाचा विर्सिएकाले आज देशमा यस्तो अवस्था सिर्जना भयो,’ उहाँले भन्नुभयो, ‘अझै पनि समय छ, विपक्षीले सहमतिमा आएर देशलाई संविधान दिनुपर्यो ।’
वनमन्त्री महेश आचार्यले नेपाली जनताको चाहनाअनुरुप संविधानसभाबाट चाँडै संविधान जारी हुने गरी सहमति भइरहेको समेत जानकारी दिनुभयो ।
उहाँले संविधान लेखनमा हाल देखिएको अवरोध वार्ता र सम्वादबाट छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्दै संविधान लेखनमा हाल सुरु भएको प्रक्रियाले सहमतिको बाटो अन्त्य गरेको छैन भन्नुभयो ।
‘सहमति वा प्रक्रिया’ दुवै तरिका अपनाएर कांग्रसले जनतालाई संविधान दिएरै छाड्ने उहाँको भनाई थियो ।















प्रतिक्रिया