१० कार्तिक २०८३, मंगलबार

नेकपालाई के भन्छन् कांग्रेस ? हेर्ने दृष्टीकोण कस्तो छ ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपालाई दुइतिहाइको दम्भले सर्वसत्तावादी बनाएको, मधेसी दल जातीय क्षेत्रीयतावादी हुँदा लोकतन्त्रलाई सजिलो बनाउने बाटोमा नलागेको र राप्रपालाई राजतन्त्र फर्काउन लागेको अलोकतान्त्रिक पार्टीका रूपमा व्याख्या गरेको छ ।

२८ मंसिरदेखि हुने महासमिति बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रस्तावमा कांग्रेसले प्रमुख राजनीतिक दलबारे यस्तो टिप्पणी गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कांग्रेसले राजनीतिक प्रस्तावमा नेपालमा अहिले चारवटा राजनीतिक धार रहेको टिप्पणी गरेको छ । पहिलोमा आफैँलाई राख्दै राष्ट्रियतासहित स्वतन्त्रताको सार्वभौम सिद्धान्त, लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र मान्ने विचार भएको उल्लेख गरेको छ ।

दोस्रो, एकदलीय निरंकुशता र जनवादी केन्द्रीयता लागू गर्न चाहने र जनताका स्वतन्त्रतामाथि नियन्त्रण गर्न चाहने कम्युनिस्ट विचारको नेकपा, तेस्रो परम्परावादी राजावादी दक्षिणपन्थी विचार र चौथोमा जातीय अतिवाद र क्षेत्रीय अतिवादका मधेसी दल रहेको कांग्रेसको टिप्पणी छ ।

संघीयताप्रति उदासीनता, संविधानप्रति अपनत्व विस्तारमा अवरोध, प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रीकरण, विरोधी स्वर नियन्त्रणको प्रयत्न र सञ्चारमाध्यम र अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेपको शैलीले सरकार अधिनायकवादको दिशामा अघि बढिरहेको आरोप लगाएको छ ।

कांग्रेसले संसद्मा दुईतिहाइसरहको शक्ति आर्जन गर्नासाथ लोकतन्त्रको आवरणमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी एकपछि अर्को गर्दै संविधानको भावना र मर्ममाथि प्रहार गरी शक्तिको दुरुपयोग गर्न लागेको भन्दै उसको लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शंका गर्नुपर्ने अवस्था सिर्जना भएको ठहर गरेको छ ।

‘यो एकताको मुख्य उद्देश्य नै लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट सत्ता र राज्यमा कम्युनिस्टहरूको एकतर्फी एकदलीय वर्चस्व स्थापित गर्ने नियत स्पष्ट छ,’ उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रस्तावमा भनिएको छ, ‘निर्वाचनपछि कम्युनिस्टहरूको एउटै दल बनाउने र राज्यलाई कम्युनिस्ट पार्टीअन्तर्गत चलाउने काम तीव्र रूपमा अगाडि बढिरहेको छ ।’ कम्युनिस्टहरूको लोकतान्त्रिक प्रक्रियामा सहभागिता एउटा छलछाम र धोखाधडी हो भन्न आफूहरू बाध्य भएको कांग्रेसको भनाइ छ ।