काठमाडौँ, १६ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आवश्यक परे एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी मोर्चासँग वार्ताका लागि आफू पनि तयार रहेको बताउनुभएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै नेता देउवाले प्रधानमन्त्री सुशील कोइरालाले विपक्षी मोर्चाका नेता प्रचण्डसँग गरेको भेटवार्ताको समर्थन गर्दै आवश्यक परे आफै वार्ताका लागि तयार रहेको बताउनुभएको हो । यद्यपि अहिलेसम्म विपक्षीमोर्चाका कुनै नेताहरुसँग आफूले वार्ता नगरेको देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले प्रधानमन्त्रीले नै वार्ता गरिरहनु भएको छ, परि आयो भने म पनि विपक्षी मोर्चाका सबै शीर्ष नेताहरुसँग वार्ता नगर्न तयार छु ।’
प्रधानमन्त्री कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमै गएर भेटेको कुरालाई लिएर काँग्रेस विपक्षीसँग झुकेको हो त भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा नेता देउवाले भन्नुभयो– ‘काँग्रेस वार्तामा विश्वास गर्ने पार्टी हो, त्यसैले प्रधानमन्त्रीले पार्टी सभापतिको नाताले एमाओवादी नेतृत्वसँग वार्ताको पहल गर्नुभएको छ त्यसलाई म सकारात्मक रुपमा लिन्छु, उहाँको पहलकदमीको म समर्थन गर्छु ।’
देउवाले संविधानसभाबाट पारित भएको प्रश्नावली प्रस्ताव समितिलाई कुनै पनि हालतमा खारेज गर्न नसकिने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘संविधानसभाबाट पारित भएको प्रस्तावलाई उल्टान, सच्याउन, खारेज गर्नै मिल्दैन, एमाओवादीसहितका विपक्षी मोर्चा त्यही प्रश्नावली समितिमा आएर सहमति खोज्नुपर्छ, त्यसलाई खारेज गर्ने पक्षमा हामी छैनौं ।’
विपक्षी मोर्चाले संविधानसभाभित्र आक्रमण गरेको दिनदेखि नै उनीहरुको व्यवहार जनताले मूल्यांकन गरिसकेको भन्दै देउवाले उनीहरुले आन्दोलन गर्छु भन्नु पनि हास्यस्पद भएको टिप्पणी गर्नुभयो ।
संविधानभित्रै बसेर वार्ता गर्नुको विकल्प नभएको तर्क गर्दै देउवाले भन्नुभयो, ‘मलाई विश्वास छ, उनीहरु संसदीय समितिमा पनि आउँछन्, वार्ताबाटै सबै समस्याको समाधान खोज्नुपर्छ, उनीहरुले संविधानसभा छोड्छौँ भनेकै छैनन्, त्यसैले अब छिट्टै हामी सहमतिको लागि पहल गछौं ।’
आफूहरु संविधानका अन्र्तवस्तुमा पनि हदैसम्म लचिलो भएकाले विपक्षी मोर्चाका नेता विजयकुमार गच्छदारले राखेको प्रस्तावमा समेत समर्थन गरिसकेको जानकारी गराउँदै देउवाले भन्नुभयो, ‘काँग्रेस संविधान दिनका लागि प्रतिपक्षीसँग हातेमालो गर्न तयार छ ।’
उहाँले तत्काल सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभयो । ‘अहिले सरकार परिवर्तन हाम्रो एजेण्डा होइन, यतिबेला हामीले सम्पूर्ण ध्यान संविधान लेखन प्रक्रियामा नै केन्द्रीत गरेका छौं, सरकारको नेतृत्व गर्नुभएका सुशीलजीले अहिले राम्रै गरिरहेको छ, हाम्रो बीचमा एकता छ ।’ उहाँले भन्नुभयो ।
तपाई प्रधानमन्त्री नबन्ने भनेर संचारकर्मीले गरेको प्रश्नमा देउवाले भन्नुभयो, ‘म अहिले प्रधानमन्त्री बन्ने तिर लागेको छैन, संविधान निर्माण हुन दिनोस् अनि अरु कुरा गरौंला ।’
उहाँले काँग्रेस र एमालेले मिलेरै काम गरेको भन्दै भोलिका दिनमा पनि मिलेरै काम गर्ने स्पष्ट पार्नुभयो ।
















प्रतिक्रिया