४ कार्तिक २०८३, बुधबार

आठ वर्षपछि दोहोरियो बालुवाटार घटना

23.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । बालुवाटार प्रवेशका बेला अपमान भएको भन्दै बाहिरिएका तत्कालीन नेकपा (एमाले)का नेता केपी ओली दोस्रो पटक प्रधानमन्त्री बनेका छन् ।

ओली प्रधानमन्त्री मात्र होइनन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पनि हुन् । ओलीले बालुवाटारमा पार्टीको बैठक निरन्तर राख्दै आएका छन् ।

बालुवाटारमा बैठक बोलाएर ओली समयमा नआएको भन्दै चार ठूला नेताहरू बालुवाटारबाट बाहिरिएपछि आठ वर्ष अगाडिको घटना दोहोरिएको चर्चा भएको हो ।

तत्कालीन एमालेका अधयक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालले बोलाएको बैठक र ओलीद्वारा बहिष्कार गरिएको घटनालाई स्मरण गराएको छ ।

८ वर्ष अगाडि तत्कालीन एमालेका अध्यक्ष खनाल प्रधानमन्त्री बनेका बेला ओलीले बालुवाटारको बैठक बहिस्कार गरेर बाहिरिदिएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमा लेखेका छन्, ‘बालुवाटारको आज (शनिबार)को घटनापछि ८ वर्षअघि तत्कालीन अध्यक्ष कमरेड झलनाथ खनाल प्रम हुँदाको घटना सम्झना भएको छ ।’

‘प्रवेशद्वारमा प्रहरीले ‘भित्रबाट हजुरहरूको नाम आएको छैन, भित्र सोध्छौं हजुर’ भन्दा कमरेड केपी ओली ‘यस्तो अपमान सहिँदैन’ भनेर एक मिनेटमा त्यहाँबाट फर्किनुभएको थियो’, नेता रिजालले लेखेका छन्, ‘त्यसपछि जेएन (झलनाथ) कमरेड प्रम हुँदासम्म बालुवाटारमा पाइला हाल्नुभएन ।’

नेकपाको सचिवालय बैठक शनिवार ३ बजे बालुवाटारमा डाकिएको थियो । तर, अध्यक्ष एवम् प्रधानमन्त्री ओली बैठककक्षमा तोकिएको समयभित्र नआएपछि झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

नेकपाका महासचिव विष्णु पौडेलले अध्यक्षद्वय अर्को कोठामा परामर्शमा रहेको जानकारी आफूले नेताहरूलाई गराएको बताएका छन् ।

उनले भनेका छन्, ‘उहाँहरू किन बाहिरिनुभो अचम्मित भएका छौँ । एक्कासि असिना बर्सेजस्तो, आपत् परेजस्तो किन बाहिरिनुप-यो ? कारण बुझ्न सकिएको छैन ।’
अध्यक्षद्वय बैठककक्षमा आउँदै गर्दा उदयपुर जिल्लाबाट ०६४ मा प्रत्यक्ष निर्वाचित सांसद मणि खम्बु भेट्न आएका थिए ।

‘प्रधानमन्त्री र अध्यक्षले उहाँसँग स्वास्थ्य स्थितिबारे जानकारी लिएर सरकार र पार्टीले गर्न सक्ने सहयोगबारे कुराकानी गर्दा १५ मिनेट ढिलो भएको सत्य हो’, पौडेलले भने, ‘तर, बैठककक्षमा आउँदै गर्दा उहाँहरू बाहिरिसक्नुभएको थियो ।’

त्यति मात्रै होइन ओलीले आफू प्रधानमन्त्री भएपछि बालुवाटारको पश्चिम गेटलाई पनि बन्द गरिदिएका थिए । बालुवाटारको १ नं. गेटबाट ओलीलाई छिर्न दिइएको थिएन ।

त्यसपछि ओलीले ‘म प्रधानमन्त्री भएँ भने यो गेट बन्द गरिदिन्छु’ भनेका थिए । नभन्दै ओाली प्रधानमन्त्री भएपछि बालुवाटारको १ नं. गेट अहिले पनि प्रयोग हुँदैन । ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला त्यो गेट बन्द गरिदिएका हुन् ।