धरान, १६ माघ । जातीय राज्यका विषयमा पार्टीले लिएको नीतिको विरोध गर्दै संघीय समाजवादी पार्टीका एक जना केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् ।
संघीय समाजवादीका स्थायी समिति सदस्य विनोद राईले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । उनको साथमा धरान उपमहानगर कमिटीका अध्यक्ष अजय राईले पनि पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष अशोक राई जातीय रुपमा संकीर्ण रहेकाले उनको नीतिमा असहमति जनाउँदै पार्टी परित्याग गरेको उनीहरुले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
‘अशोक राईहरुको नियत समाजमा बिखण्डन र साम्प्रदायिक दंगा मच्चाउने खालेको छ, बाहुन क्षेत्रीलाई काट्नुपर्छ भन्नेहरु नै नेतृत्वमा हाबी छन् । अनि यस्तो कुराले समाजलाई कहाँ फाइदा गर्छ ?’, पत्रकार सम्मेलनमा बिनोदले भने, ‘त्यसैले हामी बस्न सकेनौं । एमाले छाडेर संघीय समाजवादी बनाउँदा ठूलो पैसाको चलखेल भएको रहेछ, जातिका कुरा गरेर समाजलाई बिखण्डन गर्ने खतरनाक उद्देश्य रहेछ ।’
नेपाली काँग्रेस सुनसरीको महासमिति सदस्य छाडेर बिनोद संघीय समाजवादीमा प्रवेश गरेका थिए । तर, संघीय समाजवादीको जातिय नाराबाट आफू दिक्क भएको उनले बताए । उनले फेरि काँग्रेसमा फर्कने या नफर्कने भन्ने विषयमा भने निर्णय गर्न बाँकी रहेको जानकारी दिए ।
स्थापना भएको दुई बर्ष नपुग्दै संघीय समाजवादीमा चरम कलह सुरु भएको छ । पार्टी अध्यक्ष अशोक राईप्रति असहमति जनाउँदै संघीय समाजवादीर्क बरिष्ठ उपाध्यक्ष बिजय सुब्बा, सचिव मीना गुरुङ लगायत दर्जनौँ नेताहरु केही महिना अघि समाजवादी छाडेर एमाले फर्किएका थिए । एमालेबाटै संघीय समाजवादीमा गएका रिजवान अन्सारी लगायतका नेताहरु पनि पार्टी परित्याग गर्ने मनस्थितिमा छन् ।
















प्रतिक्रिया