५ कार्तिक २०८३, बिहिबार

धुनमा प्रेम, ध्याउन्नमा सेक्स !

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्बिर

काठमाडौं । नेपाली संगितबजारमा ख्याती कमाएका कतिपय चलेका संगितकारको नियतमा खोट हुने गरेको छ । उनीहरूले गीतलाई हिट बनाउनका लागि जति मिहेनत गरेको स्रोताले अनुमान गर्छन्, नियतमा त्यति नै ‘हबस्’को बास हुन्छ भन्ने हेक्का राख्दैनन् । किनभने त्यो गुपचुप, बाध्यता र परिबन्धमा पारेर गरिन्छ ।

नेपाली संगितबजारमा केही गायिकाले संगितकारका यस्ता कथालाई नंग्याउने प्रयास गरेका थिए । तर, उनीहरूलाई यतिबेला काम मिल्न नै कठिन हुन थालेको छ । यसैले पनि कतिपय नवगायिकाले खुलेर आफूमाथि भएको नियतीलाई खोल्न चहाँदैनन् ।

बजारमा स्वरको जादुलाई संगितको धुनमा अझ सुन्दर बनाउने सपना बोकेर काठमाडौंका स्टुडियोमा छिर्ने धेरैको पीडा यस्तै छ । चलेका गायिकाका लागि ति संगितकारले प्रस्ताव गर्न डराउँछन् तर नयाँ अनुहार भने उनीहरूका लागि शिकार नै हुने गरेका छन् ।

दुईवटा गीत रेकर्ड गराएकी एक युवतीले भनिन्,‘अहिले नाम नखोलौं, समयमा भनौंला । तर, चलेका एकजना संगितकारले मलाई घुम्न जाऔं भनेर प्रस्ताव गरे । मैले मानिन । तर, उनले गीत रेकर्डका बेला भने मलाई यौनजन्य दृष्टिले केही हर्कत गरेका थिए ।’

कतिपय गायिकाले भने यस्ता कुविचारविरुद्ध सामाजिक सञ्जालदेखि अनेक ठाउँमा बोल्ने पनि गरेका छन् । तर घटना एउटा समयमा बहसको विषय बनेपनि त्यसै सेलाउने गर्छ ।

केही समयअघि नवगायिका संगितकारको हर्कतविरुद्ध मिडियामा उत्रिए । त्यसमध्येकी एक हुन्, एन्जिला रेग्मी । उनले त संगितकारलाई स्वरमात्र नभएर शरिर ने सुम्पिनुपर्ने बाध्यता रहेको खुलाइन् ।

संगितकारका यस्तो नियतमाथि एन्जिलाले मात्र होइन, नवगायिका प्रविशा अधिकारी, सरु गौतम, सुशिला पाठकले पनि आवाज उठाए । तर, बजार उही हो, उनीहरूलाई थाहा छ ‘सम्झौता’ नगरी टिक्न कठिन छ । यी बाहेक आवाजमा प्रतिभा भएकाले बाध्यताको शिकार बन्नुपरेको छ । नत्र न राम्रो धुन पाइन्छ, न खानका लागि नुन पाइन्छ । कतिपय गायनको सपना बोकेरै काठमाडौं छिरेका हुन्छन् । नाम, दाम र विश्वजगत्मा प्रस्तुती दिने सपना पोको पारेर ल्याएका हुन्छन् । त्यति हुनका लागि उनले सुम्पिनुपर्छ आफ्नो अस्तित्व पनि । अन्यथा चल्न सकिँदैन ।

‘प्रलोभनमा पार्नका लागि हिट बनाउँछु । यस्ता गीत छन् । कतै घुम्न जाऔं । रमाइलो गरौं भन्छन्’, गायिका अधिकारीले भनेकी छन्,‘यो नियत नै खराब रहेकाहरूले गर्ने प्रस्ताव हो । सम्झौता नगरी बाँच्न पनि कठिन भइसक्यो ।’

महिलाहिंसाविरुद्ध बर्षमा अनेक पटक आवाज उठ्ने गरेका छन् । यसबेला कतिपयले आफ्ना अनुभव बाँड्ने गरेका पनि छन् । तर, सबैले यसो गर्दैनन् । ‘कतिपय चलेका गायिकासँग नै अफेयर भएको, शोमा जाँदा रमाइलो गरेको अनुभव सुन्दा घिन लाग्छ’, एक गायिका भन्छिन्,‘कतिपय गायिकामा पनि यस्तो प्रकारको हर्कतमा रमाउने चलन आएको छ, उनीहरू विचलित पनि भएका छन् ।’

संगितबजारका पुराना हस्तीले अहिले धुन बजाउन छाडेका छन् । नयाँ पुस्ताका केही चलेकाले भने कुनियतलाई पनि कलासँगै तिखारेर लगेको अनुभव धेरै गायिकाले गरेका छन् ।

गीत र संगितका लागि सुरु भएका रियालिटी शोमा प्रवेश गर्नेका लागि व्यक्तिगत सुरक्षा हुन थालेको छ । गायनबजारमा नयाँ प्रतिभा बोकेर आउनेका लागि भने चलेका संगितकारको धुनले तान्छ तर ध्याउन्नले बाध्यतामा पनि पार्छ ।

चलेका गीतको धुन मिलाउने नामी संगितकारले नयाँ प्रतिभालाई जहिल्यै पनि हवसको नजरले हेर्ने गर्छन् । एक पीडितले भनिन्,‘चिनेको र भविष्य बन्छ भनेर सहयोगका लागि आयो उनीहरूले सिधै र घुमाउरो पारामा कि प्रस्ताव गर्छन्, कि बाध्यतामा पार्छन् ।’