काठमाडौं, २२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई ‘पार्किन्सन’ रोग लागेको जनाइएको छ । यो रोग वंशानुगत हो ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पत्नी सीता दाहाललाई पार्किन्सनको समस्या देखिएको बताए । असोज १० गते पत्नी सीतालाई लिएर प्रचण्ड उपचारका लागि सिंगापुर गएका थिए ।
प्रचण्डकी पत्नी सीता दाहालमा पार्किन्सनका रोगका लक्षण देखिएको सिंगापुरका डाक्टरले बताएको पारिवारिक स्रोतले जनाएको छ ।
यही रोगको निदानका लागि कात्तिक २६ मा पत्नी सीतालाई लिएर प्रचण्ड म्याग्दीको तातोपानी पनि पुगेका थिए ।
मस्तिष्कमा रहेको नसासम्बन्धी समस्या नै पार्किन्सन रहेको त्रिवि शिक्षण अस्पतालका नसारोग विभाग प्रमुख डा. रागेश कर्ण बताएका छन् । यो रोग लागेपछि मस्तिष्कको नसा सुक्दै जान्छ ।
‘विगतमा मस्तिष्क ज्वरो आएको, औषधिको असर र मस्तिष्कमा चोटपटक लागेको छ भने पनि पार्किन्सन रोग हुन सक्छ’, डा.कर्णले भनेका छन् ।
पार्किन्सन भएका बिरामीको गति सुस्त हुन्छ । हातखुट्टा काँप्छन् । ‘हिँड्दाहिँड्दै लड्ने डर पनि हुन्छ । हरेक क्षण ख्याल गर्नुपर्छ’, डा.कर्णले भनेका छन् ।
वंशानुगत कारणले भएको पार्किन्सन निको पार्न नसकिने डा. कर्ण बताउँछन् । फिजियोथेरापी र औषधोपचार गरेर जीवनलाई कष्टमुक्त बनाउन सकिने उनको भनाइ छ ।
काठमाडौंमा शुक्रबार सोसाइटी अफ लाइफ साइन्सेस नेपाल र डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टरले गरेको कार्यक्रमलाई प्रचण्डले सम्बोधन गर्ने क्रममा पत्नी सीताको रोगका बारेमा कुरा राखेका थिए । प्रचण्डले कार्यक्रमको उद्घाटन पनि गरेका थिए ।















प्रतिक्रिया