
काठमाडौँ, १३ मंसिर । प्रहरीले विश्व हिन्दु महासंघका ५ जनालाई पक्राउ गरेको छ । काठमाडौँको माइतीघर मण्डलाबाट उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजु सुनार, मञ्जु पुडासैनी, लक्ष्मी दाहाल, मनिका खतिवडा र रघु कार्की छन् ।
उनीहरुले नेपालकी छोरी निर्मलालाई न्याय देउ अनि त्यसपछि चढाउँला जिससकी छोरीलाई फूलमाला’ भन्ने प्लेकार्ड बोकेर विरोधमा उत्रिएका थिए । काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्तकुमार लामाले सरकारको निर्णयविपरीत विरोध प्रर्दशनमा उत्रिएपछि ५ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
सरकारले एशिया प्यासेफिक समिट अवधिभरका लागि काठमाडौं उपत्यकामा सबैखाले विरोधका कार्यक्रममा रोक लगाएको छ । शुक्रबारदेखि काठमाडौँमा सुरु हुने एशिया प्यासिफिक सम्मेलनमा सहभागी हुन सात देशका सरकार तथा राष्ट्रप्रमुखसहित पाँच सय विशिष्ट पाहुना काठमाडौँ आउँदैछन् । त्यही कार्यक्रम र सुरक्षालाई मध्यनजर गर्दै सरकारले विरोध प्रदर्शनमा रोक लगाएको हो ।
सवारी व्यवस्थापनलाई मध्यनजर गर्दै सरकारले बिहीबारदेखि ४ दिन उपत्यकामा चल्ने सवारी साधनमा जोर–विजोर प्रणाली समेत लागू गरेको छ । जसअनुसार बिहीबार विजोर नम्बरका सवारी गुडेका छन् । हिन्दु महासंघका कार्यकर्ताहरु उपत्यकाका यातायातमा लागू गरिएको जोरबिजोर प्रणालीको पनि विरोध गरेका थिए ।















प्रतिक्रिया