– रामसुन्दर आचार्य
काभ्रे, १६ माघ । भगवान पनि कति निर्दयी ! काभ्रेको पनौतीमा बिहीबार मध्यराति यस्तो विभत्स घटना भएको छ, जसमा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
काभ्रेको पनौती नगरपालिका १० सुनथानमा गएराति १२ बजे आगलागी हुँदा एकै परिवारका तीन जनाको ओछ्यानमै जलेर ज्यान गएको हो ।
सुनसानका ३५ बर्षीय बिनोद केसी, उनकी ३२ बर्षीया श्रीमती भागरथी र नौ बर्षीय छोरा बिपीनको शव आगाले जलेर क्षतविपक्षत अवस्थामा ओछ्यानमै भेटिएको छ । कृष्णबहादुर केसीका माइला छोरा बिनोद तीन बर्षमात्रै अंशबण्डा गरी छुट्टै बस्न थालेका थिए । बिनोद काठमाडौं विश्वविद्यालयमा पलम्बरको काम गर्थे भने श्रीमती गृहणी थिइन् । छोरा भने स्थानीय नमोबुद्ध उमाविमा २ कक्षामा अध्ययनरत थिए ।
जस्ताको छानो भएको सिमेन्टको सानो घरमा बसेर गुजारा चलाइरहेका उनको घरमा बिहीबार गाई ब्याएको थियो । त्यही गाईको बाच्छोलाई न्यानोमा राख्न आगो बाल्दा उनीहरुको ज्यान गएको हो । घरसँगैको गोठमा आगो बालेर सुत्दा घरै सल्केको उनीहरुले पत्तै पाएनन् । अन्ततः बिहीबार राति १२ बजेको आसपासमा उनीहरुको ज्यान गयो । छिमेकीहरुले बिहान हेर्दा बिनोद, उनकी श्रीमती र नौ बर्षीय छोरालाई मृत अवस्थामा भेटेका थिए । उनीहरुसँगै गाईको बाच्छो पनि गोठमै जलेर मरेको अबस्थामा भेटिएको छ । आगलागीबाट घरका सामान पनि पूर्णरुपमा जलेका छन् ।
काभ्रे प्रहरी बिहानै घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको छ ।


















प्रतिक्रिया