२ कार्तिक २०८३, सोमबार

सहिदकोे सपना साकार पार्न हातेमालो गरौँ : प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री सुशील कोइरालाले आपसी सहकार्य, मेलमिलाप र एकताको भावनाले प्रेरित भएर सहिदकोे सपना साकार पार्ने अभियानमा हातेमालो गर्दै अघि बढ्न आह्वान गर्नुभएको छ ।

सहिद दिवसका अवसरमा प्रधानमन्त्रीले शुभकामना सन्देश दिँदै नेपाली जनताले अहिलेसम्मका आन्दोलन र सङ्घर्षबाट प्राप्त गरेका अधिकारलाई संस्थागत गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउने यस ऐतिहासिक घडीमा संविधानसभामा र बाहिर रहनुभएका सबै राजनीतिक दलसमक्ष सहिदको बलिदानको पुनःस्मरण गरी अहिलेसम्म हासिल भएका उपलब्धिलाई संविधानमा संस्थागत गर्ने महान् अभियानलाई छिटो पूरा गरी जनतालाई सुखी र समृद्ध बनाउने कार्यमा इमान्दारीपूर्वक सहभागी हुन अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्रीले सहिद दिवसले देशको शान्ति, विकास र समुन्नत भविष्य निर्माणमा सबैलाई समर्पित हुने प्रेरणा देओस् भन्दै सहिदको सपना साकार पार्न समर्पित सबै नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ–“सहिद दिवस २०७१ का अवसरमा देशको अस्तित्व रक्षा र जनताको हकहित, अधिकार र स्वतन्त्रताका निम्ति आफ्नो जीवन आहुति दिने महान् सहिदको बलिदानको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु । ”

प्रधानमन्त्रीले सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रयुक्त शासन व्यवस्था ल्याउन धेरै नेपाली सपूतले ज्यान अर्पण गरेको स्मरण गर्दै यो दिन जहानिया राणाशासन, पञ्चायती व्यवस्था तथा राजाको निरङ्कुशताका विरुद्धमा चालिएका विभिन्न आन्दोलनसहित नागरिक अधिकार प्राप्तिका निमित्त भएका सङ्घर्षमा जीवन उत्सर्ग गर्ने सहिदको सपना, निष्ठा, त्याग र बलिदानसहित उहाँहरुको जीवनका समग्र पक्षको पुनःस्मरण गर्ने अवसर भएको पनि बताउनुभएको छ ।

सन्देशमा सहिदको त्याग र बलिदानको उच्च सम्मान गर्दै यस दिवसले हामीलाई देश, लोकतन्त्र र जनताप्रति इमान्दारीपूर्वक समर्पित भएर काम गर्ने प्रेरणा दिने पनि प्रधानमन्त्रीले जनाउनुभएको छ । रासस