
काठमाडौं, ११ मंसिर । सभापति शेरबहादुर देउवाविरुद्ध नेपाली कांग्रेसमा अन्य नेताको बलियो गठजोड बनेको छ । पूर्वसंस्थापनका नेताहरूको यो गठजोडले देउवालाई आगामी महासमिति बैठक र महाधिवेशनमा धक्का दिने भएको छ ।
कांग्रेसमा देउवाले बेथिति बसालेको भन्दै १३ औं महाधिवेशनमा देउवालाई सघाएका सभापतिका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसीसहितका नेताहरू नेत्री सुजाता कोइरालाको निवास मण्डिखाटार बैठकमा मंगलबार उपस्थित भए ।
कुनै बेला एकअर्काको नामै सुन्न नचाहने सुजाता र सिटौलाको मिलन, केसी र डा. रामशरण महत पनि एउटै क्याम्पमा देखिनुले देउवालाई महासमिति बैठक र आगामी महाधिवेशनमा ठूलै धक्का लाग्ने छ ।
उक्त लञ्च बैठकमा युवा नेताहरू गगन थापा, प्रदिप पौडेललगायत पनि सहभागी थिए । ‘युवा नेता र अनुभवीसहित कोइराला परिवार पनि एक साथ भएपछि देउवालाई ठूलो चुनौति हुने देखिन्छ’, एक कांग्रेस नेताले भने,‘अब कांग्रेस संगठनात्मक र मासका आधारमा बलियो बनाउने रणनीति बन्नेछ ।’
सुजाता निवासमा तालमेल मिलाउनका लागि बसेको मंगलबारको अन्तिम बैठक थियो । यहि बैठकले आगामी जिम्मेवारीको बाँडफाँडको तयारी र महाधिवेशन, चुनावसम्मको रणनीतिक अभ्यासबारे निक्र्यौल निकालिसकेको स्रोतले बतायो ।
यसअघि नै कांग्रेसको आगामी महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापति र महामन्त्रीमा गगन थापालाई उठाउने मोटामोटी सहमति भइसकेको थियो । नेता रामचन्द्र पौडेल, केसी, महत, सिटौला, सुजाता, डा. शशांक कोइरालाले कस्तो जिम्मा लिने भन्नेबारे पनि सहमति बनिसकेको बताइएको छ ।
यो गठजोडले आगामी महाधिवेशनमा देउवा पक्षलाई क्लिन स्वीप गर्ने योजनाका लागि महासमिति बैठकमा प्रभाव जमाउने तयारी गरेको छ । महासमिति अघि यसै गठजोडका नेताहरू विभिन्न ठाउँमा हुने कार्यक्रम र जागरण अभियानमा सहभागी हुने भएका छन् ।















प्रतिक्रिया