आदर्शका किरन भए म्यान अफ दि सिरिज
– राजेन्द्र भट्ट
महेन्द्रनगर, १५ माघ । ‘प्रथम एलबिए ट्वान्टी–२० कप क्रिकेट प्रतियोगिता’को उपाधी आदर्श उमाविले चुमेको छ ।
महेन्द्रनगरस्थित खुला मञ्चमा साँझ सम्पन्न फाइनल खेलमा आयोजक लिटिल बुद्ध एकेडेमीलाई चार विकेटले पराजित गर्दै आदर्शले उपाधी हात पारेको हो ।
लिटिल बुद्धले दिएको एक सय तीन रनको लक्ष्य छ विकेट गुमाउँदै १५ दशमलव पाँच ओभरमा पुरा गर्दै आदर्शले पछिल्लो प्रतियोगिताको जवाफ समेत दिएको छ ।
आदर्शको आयोजनामा भएको पछिल्लो प्रतियोगिताको फाइनलमा लिटिल बुद्धले आयोजकलाई पराजित गरेको थियो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लिटिल बुद्धले २० ओभरमा एक सय दुई रन जोडेको थियो । उसका लागि अजय कार्की सर्वाधिक २४ र विकास थापाले १६ रनको योगदान दिएका थिए ।
आदर्शका लागि विरेन्द्र ठुन्नाले कसिलो बलिङ गर्दै चार ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । यसै गरी हरिश अधिकारीले दुई र किरन ठगुन्ना, सुरेश खड्का, दिपेश चन्द तथा नवल बोहराले एक/एक विकेट बाँडेका थिए ।
एक सय तीन रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको आदर्शले राम्रो सुरुवात गर्न सकेन । निरन्तर अन्तरालमा विकेट गुमाएको आदर्शका लागि खेलका म्यान अफ दि म्याच हरिश अधिकारीले सर्वाधिक ३४ बलमा ४० रनको महत्वपूर्ण पाली खेले ।
हरिश बाहेक सुरेश खड्काले ११ रन र दिपेश चन्द तथा बिरेन्द्र ठगुन्नाले समान १० रनको योगदान दिएका थिए । अघिल्ला दुई खेलमा आदर्शका म्यान अफ दि म्याच किरन ठगुन्ना फिल्डिङमा घाईते भएपछि मैदानमा उत्रिन नसक्दा मध्यक्रम कमजोर देखिएको थियो ।
आयोजक लिटिल बुद्धका प्रविन अवस्थीले चार ओभरमा १६ रन खर्चेर चार विकेट लिए पनि खेल आफ्नो पक्षमा पार्न सकेनन् । प्रतियोगितामा एक सतक र अर्धशतक प्रहार गरेका आदर्शका किरन ठगुन्ना म्यान अफ दि सिरिज भए । उनलाई नगद छ हजारसंगै ट्रफि र प्रमाणपत्र प्रदान गरियो ।
त्यस्तै उत्कृष्ट ब्याट्सम्यानको उपाधी लिटिल बुद्धका शुसिल खड्का र उत्कृष्ट बलरको उपाधी जनज्योतीका धिरज बिष्टलाई प्रदान गरियो । दुवै जनालाई जनही दुई/दुई हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम विश्व विद्यालयका उपकुलपति प्रा.डा. जयराज अवस्थी तथा सभापति नरेन्द्र खत्रीले उपाधी विजेता आदर्शलाई ५१ हजार नगद र ट्रफि तथा उप विजेता लिटिल बुद्धलाई २५ हजार रुपैयाँ नगद तथा ट्रफि प्रदान गरेका थिए ।
यसैबीच प्रतियोगिताको समापन समारोहमा नेपालका अन्तराष्ट्रिय खेलाडी चन्द्र साउँद, प्रदिप ऐरी र विनोद भण्डारीलाई आयोजकले खादासहित सम्मानित गरेको थियो ।













प्रतिक्रिया