
काठमाडौँ, १० मंसिर । सिभिल बैंक लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा वृक्षारोपण, रक्तदान तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान लगायतका कार्यक्रम गरि मनाउँदैछ ।
वार्षिकोत्सवको पहिलो दिन सोमबार विहान पशुपति क्षेत्रको चक्रपथसँगै जोडिएकोे पार्किङ क्षेत्रमा वृक्षारोपण गरियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत शिक्षा, स्वास्थ्य, पर्यावरण र साँस्कृतिक सम्पदाको संरक्षण एवं सम्वर्द्धन प्राथमिकतामा रहेको उल्लेख गर्दै सोही नीति अनुरुप वृक्षारोपण कार्यक्रमको आयोजना गरी बैंकले ३०० वटा वृक्षारोपण गरेको र विरुवालाई ५ वर्षसम्म मलजल, संरक्षण गरी हुर्काउने सम्मको सम्पूर्ण जिम्मेवारी वहन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश कुमार उप्रेतीले सिभिल बैंकले वृक्षारोपण मात्र नगरी रुखहरुलाई ५ वर्षसम्म हुर्काई आफै सक्षम भएपछि मात्र हस्तान्तरण गर्ने काम एकदमै स्रहानिय रहेको बताए ।
बैंकले पशुपति क्षेत्र जस्तो देवभूमिमा वृक्षारोपण जस्तो पावन कार्य गर्न पाउँदा खुशी लागेको बैंकका अध्यक्ष ई. इच्छाराज तामाङले बताए । बैंकले आफ्नो आठौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रधान कार्यालय तथा देशका प्रमुख शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । साथै वार्षिकोत्सवको महिनामा देशका ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुको छनौट गरी छात्रवृत्ति प्रदानगर्ने कार्यक्रम पनि रहेको बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको प्रथम चौमासमा (एनएफआरएस अनुसार) रु अठार करोड पचास लाख कमाउन सफल भएको बैंकले जनाएको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ६३.९९ प्रतिशतले वृद्धि हो । बैंकका देशभर ७० शाखा सञ्जाल रहेको छ ।















प्रतिक्रिया