काठमाडौँ, १५ माघ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छार एमाओवादी नेतृत्वको मोर्चाबाट बाहिरिने मनिस्थितिमा पुगेका छन् ।
अब कसरी अगाडि बढ्ने भन्ने विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असमझदारी भएपछि गच्छदार एमाओवादी नेतृत्वको विपक्षी मोर्चाबाट बाहिरिने मनस्थितिमा पुगेका हुन् ।
फोरम लोकतान्त्रिकको दुई दिनदेखि राजधानीमा जारी बैठकमा गच्छदारले एमाओवादी नेतृत्वको मोर्चामा बस्ने इच्छा नभएको धारणा राखेको एक नेताले बताए ।
काँग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाको माघ ५ गतेको बैठकमा आफूले राखेको प्रस्ताव प्रचण्डले अस्वीकार गरेकोमा गच्छदारले आक्रोश पोखेका थिए । ‘मैले राखेको प्रस्ताव मानेको भए त्यतिबैलै सहमति हुन्थ्यो, देशले संविधान पाउँथ्यो, देशमा यो भद्रगोलको अवस्था हुन्थेन ।’ गच्छदारको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।
माघ ५ गते मध्यराति संसद तोडफोड हुनुअघि बसेको प्रमुख दलको बैठकमा गच्छदारले संघीय प्रदेशको सीमांकन दुई महिना भित्र गर्ने र प्रदेशको नाम पनि प्रदेश सभाले नै राख्ने गरी संविधान जारी गर्ने प्रस्ताव राखेका थिए ।
‘मोर्चा छाडेर कुनै पनि बेला सरकारमा जान सक्ने’ भनी मोर्चाकै नेताहरुले आफूलाई होच्याउने गरेको भन्दै उनले मधेशवादी दलकै नेताहरुप्रति समेत आक्रोश व्यक्त गरेका थिए ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठीसँग उनी सबैभन्दा बढी आक्रोशित देखिएका छन् । महतो र त्रिपाठीको नामै किटेर गच्छदारले त्यस्ता नेताको भीडमा आफूलाई पटक्कै बस्ने इच्छा नभएको धारणा राखेको बैठकमा सहभागी फोरम लोकतान्त्रिकका एक नेताले बताए । आफूले नेतृत्व गरेकै कारण मधेशी मोर्चाको उचाइ बढेको भन्दै उनले मधेशवादी दलका नेताहरुको हैसियत आफूलाई प्रष्ट थाहा भएको बताएका थिए ।
एमाओवादी नेतृत्वको मोर्चा र संयुक्त मधेशी मोर्चा पनि छाड्ने मनस्थिति बनाएपनि गच्छदारका पार्टीका केन्द्रीय नेताहरुले भने मोर्चा छाड्न नहुने सुझाव दिएका छन् । बैठकमा बोल्ने अधिकांश नेताहरुले बरु मोर्चामै बसेर नकरात्मक टिकाटिप्पणी गर्नेसँग मुकाबिला गर्नुपर्ने धारणा राखेका थिए । अहिलेको अवस्थामा मोर्चा छाड्दा मधेशमा नराम्रो सन्देश जाने अधिकांश नेताको धारणा थियो ।
राजधानीमा जारी फोरम लोकतान्त्रिकको बैठकले संविधान निर्माणमा देखिएको जटिलताका साथसाथै मोर्चामै रहने र बाहिरिने भन्ने सम्बन्धमा पनि महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको स्रोतले बतायो ।
















प्रतिक्रिया