४ कार्तिक २०८३, बुधबार

सुन तस्करीका भगाैडा र आइजीपी खनाल एउटै मञ्चमा !

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका एक जना अभियुक्त ठाकुरप्रसाद ढुङ्गानासँग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेट गरेका छन् । उनी खनालका साथि भएकाे समेत बुझिएको छ । सुन तस्करीको अनुसन्धान गरिरहेको सरकारी टोलीलाई झुक्याएर भागेका ढुंगाना प्रहरी महानिरीक्षक खनाल र वरिष्ठ प्रहरी अधिकारीसँग एउटै मञ्चमा देखिएका हुन् ।

स्रोतका अनुसार इन्टरपोलको महासभामा माग लिन नेपालबाट यूएई गएका आईजीपी खनालसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज शाही, इन्टरपोल शाखाका प्रहरी उपरीक्षक (एसपी) उमेशराज जोशी, कुकुर शाखाकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देउती गुरुङ लगायतका अधिकारीले एनआरएनको कार्यक्रममा ढुङ्गानासँग भेट गरेका हुन् ।

ढुङ्गानाको मुद्धा उच्च अदालत विराटनगरमा विचाराधीन अवस्थामा रहेको छ । उनलाई जिल्ला अदालत माेरङ्ले १० लाख धराैटीमा छाेडेको थियाे । स्रोतका अनुसार महानिरीक्षक खनालसँग पुरानो परिचय भएका ढुंगानाले उनलाई दुबईमा स्वागत सत्कार समेत गरेका थिए । यस्तै बुधबार नै विवादास्पद व्यक्तिहरूले युएईको ‘रस अल खेमा’मा रात्रिभोजसमेत आयोजना गरेका थिए। त्यहाँ आइजिपी खनालले सुन तस्करी र कर छलीमा परेका एक व्यापारीलाई समेत भेटेको स्रोतले जानकारी दिएको छ। बिहीबार आइजिपी ‘डेजर्ट सफारी’मा गएका थिए। शुक्रबार एनआरएनएको कार्यक्रममा सुन तस्करका नाइके ढुंगानासँग भेट भएको थियो। आइजिपी खनाल शनिबार स्वदेश फर्किसकेका छन् ।

आइजीपी खनाल सहभागी भएको कार्यक्रममा उपस्थित ढुङ्गाना

काठमाडौंमा कान्तिपुर होलिडे र एवल टुर्स एण्ड ट्राभल्सका संचालक रहेका ढुंगाना सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेको भेटिएपछि गृह सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले बयानका लागि बोलाएको थियो । समितिमा हाजिर भएका ढुंगाना बयान लिएर तारेखमा छुटेकै बेला असारदेखि सम्पर्कविहिन भएका थिए । भगेको केही समयपछि समितिको अनुसन्धानले सुन तस्करीमा उनको संलग्नता पुष्टि गरेको थियो । विमानस्थल र सीमामा कडा निगरानी हुँदाहुँदै उनी भागेका थिए । गत शुक्रबार आयोजित एनआरएन युएईको राष्ट्रिय भेलामा ठाकुर पनि सहभागी थिए । र, उनले मन्तव्यसमेत व्यक्त गरेका थिए ।

त्यहाँ आईजीपी बसेको स्थान नजिकै ढुंगाना बसेका थिए । एनआरएन अध्यक्ष रमेश श्रेष्ठले कार्यक्रम व्यक्तिगत भएको भन्दै खानपिनको फोटो नखिचिदिन पटक–पटक सहभागीलाई अनुरोध गरेका स्रोतले जनाएको छ ।

अनुसन्धानको क्रममा दुबईमा ग्रीनलाइन ट्राभल्स एण्ड टुर्सका सञ्चालक समेत रहेका ढुङगाना तस्करीका मुख्य नाइके गोरे भन्ने चूडामणि उप्रेतीको साझेदार रहेको खुलेको थियो । सुन अनुसन्धान टोलीले ढुंगाना संचालक रहेको लाजिम्पाटस्थित एवल टुर्स एण्ड ट्राभल्स र कान्तिपुर होलिडेमा छापा हानेर शिलबन्दी गरी मोरङ जिल्ला अदालतमा मुद्दा बुझाएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै ढुङ्गाना

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनको महासभामा सहभागी हुन गएको प्रहरी टोली गैरआवासीय नेपालीको कार्यक्रममा पूर्व योजनाअनुसारै सहभागी भएको थियो । एनआरएनएको कार्यक्रममा महानिरीक्षक खनाललाई विशेष अतिथि बनाइएको थियो ।  यति मात्र होइन इन्टरपोलले रेड कर्नर नोटिसमा राखेका बाजेको सेकुवाका संचालक चेतन भण्डारीसँग समेत महानिरीक्षक खनालले भेटघाट गरेको स्रोतकोे दाबी छ । अमेरिकाबाट भागेर लुक्दै बसेका भण्डारी केही समयदेखि दुबईमा बस्दै आएका छन् ।

चर्चित साढे ३३ किलो सुनकाण्ड प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै अलपत्र छ । पूर्वमन्त्री लगायतका केही उच्च पदस्थ व्यक्तिहरु समेत मुछिएपछि यसको अनुसन्धान सेलाएको छ ।