काठमाडौँ, १५ माघ । नेपाल र भारतबीच सिमित मानव तस्करी अमेरिका सम्म पुगेको छ ।
विभिन्न मुलुक हुदै नेपालीलाई अमेरिकामा वेच्ने गरेको खुलासा भएको हो ।
मानव तस्करी र त्यस क्रममा पक्राउ परेका कैदीहरुले अमेरिकामा नेपाली महिला वेच्ने गरेको खुलासा गरेका हुन् ।
यस्तै, व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिको विहीवारको बैठकले ल्याटिन अमेरिका हुँदै संयुक्त राज्य अमेरिकामा हुने मानव तस्करी र त्यस क्रममा पक्राउ परी विभिन्न देशका कारागारमा रहेका नेपालीका सम्बन्धमा जानकारी दिन पराराष्ट्र मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
समितिको बैठकमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसहितको उपस्थितिमा छलफल भएपछि समितिका सभापति सुशीलकुमार श्रेष्ठले लामो दूरी पार गरेर अमेरिकामा जोखिमपूर्ण र गम्भीर किसिमको मानव तस्करी हुने गरेकाले यसको निराकरणका लागि सरकारले पहल गरी त्यसबारे जानकारी दिनुपर्ने बताउनुभयो ।
उहाँले कोस्टारिका, ब्राजिल, मेक्सिको, निकारागुवा, ग्वाटेमालो हुँदै अवैध र वैध तरिकाबाट अमेरिका पलायन हुने क्रममा नेपाली पक्राउ पर्ने गरेको बताउँदै ती नागरिकलाई समस्या परेको अवस्थामा मात्रै आफ्नो मन्त्रालयलाई जानकारी हुने स्थिति रहेकोे बताउनुभयो ।
मन्त्री पाण्डेले मानव तस्कारीमा अन्तरदेशीय मानव तस्करको जालोसमेत सक्रिय भएकाले वैदेशिक रोजगारका लागि के कति मानिस कहाँ गइरहेका छन् भन्ने बारेमा गृह, परराष्ट्र र श्रम मन्त्रालयबीच सफ्टवेयर बनाई एकीकृत सूचना प्रणाली विकास गर्ने कार्य भइरहेको उल्लेख गर्नुभयो । “तीनवटा मन्त्रालयबीच समन्वय हुन सकेन भने समस्याको समाधान हुँदैन,” मन्त्री पाण्डेले भन्नुभयो, “यसमा छिमेकी मुलुकसँग पनि एकीकृत प्रयासका आधारमा समाधान गर्न हामी लाग्नेछौँ ।”
राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्रीको परामर्शदाता जस्तोभन्दा संवैधानिक निकाय र अनुसन्धानमुखी बनाई युवाको विदेश पलायन रोक्ने र मुलुकको सर्वाङ्गिण विकासमा लाग्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले भियनामा रहेको राष्ट्रसङ्घको मानव बेचबिखनसम्बन्धी संयन्त्रको आगामी बैठकमा नेपालबाट उच्चस्तरीय प्रतिनिधि पठाई कुरा राख्ने तयारी गरिरहेको बताउनुभयो ।
दुई वर्षअघिको बोलिभियाली अध्यागमनको तथ्याङ्कअनुसार दुई महिनाको अवधिमा मात्रै ५०० नेपाली अवैध रुपमा अमेरिका प्रवेश गरेका थिए । अमेरिकाको आन्तरिक मामिला विभागका अनुसार सन् २००४ देखि सन् २०१३ सम्म एक हजार ५४१ नेपाली गैरकानुनी रुपमा अमेरिका पुगेको पाइएको छ । यस्तै हाल छ हजार ९५ जना नेपाली अमेरिकामा शरणार्थीका रुपमा रहेका छन् ।
समितिका सदस्यहरूले मानव तस्करी रोक्न कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुकमै रोजगारी पाउने स्थिति भएमा अवैध रूपमा जोखिमपूर्ण यात्रामा मानिस फस्ने थिएनन् भन्दै योजना आयोगलाई संवैधानिक बनाउन सरकारले प्रस्ताव ल्याएमा स्वागतयोग्य हुने बताउनुभयो । उहाँले विदेशमा रहेका नियोगले मानव तस्करीलाई रोक्न पहल गर्नुपर्ने बताउनुभयो ।
एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक अस्थिरता छ भन्ने बहानामा यस्ता विषयलाई बेवास्ता नगरी मन्त्रिपरिषद्मा प्रवेश गराउन मन्त्री पाण्डेलाई आग्रह गर्नुभयो ।
सभासद् मोफताब अहमदले श्रम विभागबाट अभिलेख सङ्कलन गरी अमेरिका र अन्य मुलुकमा भइरहेका नेपालीको मानव तस्करीका घटनाको भण्डाफोर र नियन्त्रण दुइटै गर्नुपर्ने बताउनुभयो ।
फोरम लोकतान्त्रिकका गीता राणा क्षेत्रीले विदेश पलायनको स्थितिले मुलुकमा युवा पुरुषको सङ्ख्यामा कमी आउने सामाजिक समस्या पैदा हुने चिन्ता प्रकट गर्दै उनीहरुको स्वदेशमै सम्मान र सदुपयोग हुने वातावरण बन्नुपर्ने बताउनुभयो ।
सभासद् कमलाकुमारी घिमिरे, वसुन्धरा रोकाया, नरबहादुर थापा र शिवबहादुर खड्काले पनि मानव तस्करी रोक्न सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो । यसअघि भारत हुदै युरोपियन राष्ट्रहरुमा नेपाली महिला डान्सबारमा वेचिने गरेको अनुसन्धानमा पाइएको थियो ।















प्रतिक्रिया