काठमाडौं, ८ मंसिर । इण्डोनेसियामा नेपालले सितोरियो कराते च्याम्पियनसिपमा पहिलो स्वर्ण पदकसहित खाता खोलेको छ ।
इन्डोनेसियाको जकार्तामा शुक्रबारदेखि शुरु भएको १५औँ एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा नेपालका लागि गणेशबहादुर थिङले पहिलो स्वर्ण पदक जिताएका हुन् ।
पहिलो दिनकै खेलामा नेपालले स्वर्ण पदक हातपारेपछि नेपाली खेलाडीहरू उत्साहित भएको अन्तर्राष्ट्रिय रेफ्री एवम् राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले जानकारी दिए । ‘हामी उत्साहित भएका छौँ’, उनले भने, ‘खेलाडीसहित नेपाली टिम खुसी छ ।’
गणेशबहादुर थिङले काता तर्फ सफलता हासिल गरेको हो । उनले भेट्रान्स एकल कातामा स्वर्ण पदक हात पारेका हुन् ।
थिङले फाइनलमा हङकङलाई ५ शून्यले हराएको महर्जनले जानकारी दिए । नेपालका लागि भेट्रान प्रतियोगितामा इतिहासमै पहिलो पटक स्वर्ण पदक हात पारेको हो ।
१५औँ एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिप प्रतियोगिताको लागि महर्जनको नेतृत्वमा मंसिर ४ गते नेपाली खेलाडीहरूको टोली इण्डोनेसिया गएको थियो ।
इण्डोनेसियाको जाकर्तामा २१ नोभेम्बरदेखि २५ नोभेम्बरसम्म च्याम्पियनसिपको खेलहरू हुनेछ ।















प्रतिक्रिया