काठमाडौँ, १५ माघ । २ दिने भ्रमणका लागि चेक गणतन्त्रका उद्योगमन्त्री नेपाल आइपुगेका छन् ।
युरोपेली मुलुक चेक गणतन्त्रका उद्योग वाणिज्यमन्त्री यान मलाडेक ३९ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा विहीवार बिहान राजधानी आइपुग्नुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्र मन्त्रालयका सहसचिव एवम् युरोप–अमेरिका महाशाखा प्रमुख निर्मलराज काफ्ले, नेपालका लागि चेक गणतन्त्रका अवैतनिक वाणिज्यदूत विष्णुकुमार अग्रवाल तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभयो ।
नेपालको आर्थिक सामाजिक विकासका साथै लगानीका विविध क्षेत्र पहिल्याउन दिउँसो अर्थमन्त्री डा रामशरण महतसँग चेक मन्त्रीको वार्ता हुनेछ ।
चेक गणतन्त्रले नेपालमा जलस्रोत, सडक, खाद्यउद्योगलगायत क्षेत्रमा संयुक्त लगानीका परियोजना सञ्चालनमा अभिरुचि देखाएको छ ।
संयुक्त लगानीका परियोजनाको पहिचान तथा तीबारे आवश्यक जानकारी लिन उक्त मुलुकका प्रतिष्ठित उद्योगपति एवम् व्यापारी पनि मन्त्री मलाडेकसाथ आउनुभएको छ ।
यसअघि चिनियाँ विदेशमन्त्री पनि नेपाल भ्रमणमा आएका थिए ।















प्रतिक्रिया