५ कार्तिक २०८३, बिहिबार

पहिला उधुम मच्चाए, अहिले कहाँ हराए ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पेशामा सन्तुष्टी नमिल्दा पलायन हुनु कुनै नौलो कुरा होइन । अझ त्यहाँ लामो रेसमा दौडन नसक्ने ठानेर जीवनलाई फरक मोडतिर लैजानु नेपालीका लागि झन नौलो होइन । नेपाली फिल्म उद्योगमा एक समय चर्चितमात्र होइन, अनिवार्य बनेका केही अभिनेत्रीहरू अहिले अमेरिकामा निजी जीवनमा खुसी हुन थालेका छन् ।

यी अभिनेत्रीहरूले फिल्म क्षेत्रको व्यापार घटेको द्वन्द्वकालको समयमा बेरोजगार हुने र सम्भावना क्षीण देखेपछि मुलुक छाडेका थिए । केही फर्किएर पनि आए । तर, केही भने अझै पनि अमेरिकाको सयलमा रमाइरहेका छन् ।

अभिनेत्री करिश्मा मानन्धर लामो समय अमेरिकामा बसिन् । तर, उनले त्यहाँ भविष्यलाई सुदृढ देखिनन् । एक दशकमा फर्किएर नेपाल आइन्, फिल्म निर्माण गरिन् । कतिपयमा अभिनय पनि गरिन् । अहिले राजनीति र अध्ययनमा सक्रिय छिन् । अब उनको अमेरिका बस्ने मोहचाहीँ छैन ।

करिश्मा जस्तै फिल्म क्षेत्रमा उधुम मच्चाउने अन्य अभिनेत्रीहरू भने अमेरिका त्यागेर नेपाल फर्किएका छैनन् । विदा मनाउन र आफन्त भेट्नका लागि बेलामौका आउने गर्छन् । यसबाहेक फिल्म क्षेत्रमा सक्रिय हुने वा उदाउने भन्ने उनीहरूको योजना पनि छैन ।

गत बर्ष अभिनेत्री जल शाह छोरी लिएर नेपाल आएकी थिइन् । केही समय बसिन्, एकाध अन्तरवार्ता दिइन् र अमेरिका फर्किन् । उनी बिहे गरेर अमेरिका बसेको लामो समय भयो । अवतार फिल्मबाट रजतपटमा डेव्यु गरेकी शाहले एक समय उधुम मच्चिनेगरी फिल्म खेलिन् । उनले ५० भन्दा बढी नेपाली फिल्मको अभिनययात्रामा निक्कैसँग स्क्रिन सेयर गरेकी छन् । अहिले अमेरिकामा नै खुसीसाथ बसेकी छन् ।

भिष्म प्रतिज्ञाले परिचय स्थापित गराएकी अभिनेत्री पूजा चन्दको अहिले थर बदलिएको छ । अमेरिका पलायन भएपछि उनले जीवनलाई फरक धारबाट उठाइन् । अहिले उनको नाम पूजा आर लामा बनेको छ । उनी अमेरिकामा हुने नेपाली समुदायका सामाजिक काममा अभ्यस्त छिन् । तर, फर्किएर नेपालमा फिल्म खेल्ने वा बनाउने मुडमा छैनन् ।

केही बर्ष अघिमात्र उनले तीन बर्षको लिभिङ टुगेदरलाई बिहेमा परिणत गरी संगीतकार राजु लामासँग जीवन बिताइरहेकी छन् । केही समय उनी नेपाल आइन् तर केहीबाहेकका मिडियामा आउन चाहिनन् ।

त्यसो त राजेश हमालको डेब्यु फिल्म युगदेखि युगसम्मकी अभिनेत्री कृष्टी मैनाली पनि अमेरिका गएपछि फिल्म क्षेत्रमा फर्किइनन् । उनी त्यसबेलाकी अनिवार्य र चलेकी अभिनेत्री थिइन् । अधिकार, चिनो, चोखो माया, गोपीकृष्णलगायतका धेरै हिट फिल्म गरिन् । हमालसँग उनको स्क्रिन सेयर सफल पनि भएको थियो । तर उनी नेपाली फिल्म उद्योगमा फर्किने सम्भावना कम देखिन्छ ।

नेपाली रजतपटमा नाम कमाएका यी तीन बाहेक धेरै नै अभिनेत्री विदेश पलायन भएका छन् । नृत्यमा उत्कृष्ट ठानिएकी सारंगा श्रेष्ठ हुन् या नयाँ धारमा उदाएको पगरी पाएकी झरना बज्राचार्य । पछिल्लो पटक अभिनेत्री निरुता सिंह फिल्ममा फर्किएकी छन् । पलायन भइसकेका मौसमी मल्ल, रुपा राना, सृजना बस्नेतहरूले पनि फिल्म क्षेत्रमा फेरि हात हालिरहेका बेला उनीहरू के गर्लान् ? चासोको विषय बनेको छ ।

उनीहरूको पलायनका विविध कारण हुनसक्छन् तर के फेरि उद्योगमा फर्किन्छन् कुनै न कुनै रूपमा ?