११ कार्तिक २०८३, बुधबार

भ्रष्टाचारले निगम यसरी डुब्यो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेपाल वायु सेवा निगम टाट पल्टेको छ । पूर्ण सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम आर्थिक संकटका कारण डुब्न लागेको खबर न्यूज अफ नेपालमा पढेसँगै म मात्रै हैन आमनेपालीमा चिन्ता बढेको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले श्वेतपत्र जारी गरी सरकारसँग २० अर्ब रुपियाँ माग गरेपछि तीनछक परिएको छ । छ दशकको लामो इतिहास बोकेको राष्ट्रिय ध्वजावाहक निगमको अधोगतिले सरकारी स्वामित्वका संस्थानको स्थिति उजागर गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

निगमभित्रका भ्रष्टाचार र वाइड बडी जहाज खरिदमा घोटाला भएका खबरहरु शृङ्खलाबद्धरुपमा प्रकाशित÷प्रसारित हुँदै आएका छन् । चलिरहेको जहाज बिक्री गरेर भाडामा जहाज चलाउने नियतका पछाडि केही कालो रहेको प्रसट हुन्छ । अहिले दैनिक एक करोड रुपियाँ बढी घाटा बेहोर्नुपरेको निगमले दुईवटा वाइड बडी जहाज ल्याउनु नै दुर्भाग्य मानिएको छ । २४ अर्ब रुपियाँ ऋण खोजेर भित्र्याएका जहाजले गन्तव्य नपाउनु, अन्तर्राष्ट्रिय हिस्सा घट्दै जानु, कमाइभन्दा घाटा बढी हुनुजस्ता अनेकौँ समस्याले ग्रस्त भएको नियमका बेथितिबारे सञ्चारमाध्यमले बारम्बार सचेत नगराएको होइन । निगम नेतृत्वको अदूरदर्शी र अवाञ्छित निर्णयका कारण राष्ट्रिय ध्वजावाहक संकटमा परेकोमा कुनै शंका छैन ।

ऋण लिएको सावाँ, ब्याज र दैनिक खर्च अचाक्ली बढेपछि निगम धराशयी हुने अवस्थामा पुगेको छ । किनभने, निगमको कर्जा मात्रै ३७ अर्ब ५९ करोड रुपियाँ पुगेको छ । जसको वार्षिक ब्याज मात्रै ३ अर्ब ६६ करोड हुन आउँछ । मासिकरुपमा ब्याज मात्रै ३० करोडभन्दा बढी र दैनिकरुपमा एक करोडभन्दा बढी तिर्नुपर्छ । अझै कर्मचारीको तलब, भत्ता, बिजुली, टेलिफोनलगायतका मसलन्द खर्च, निवृत्त कर्मचारीको भुक्तानी हिसाब गर्दा निगमले तिर्नुपर्ने दायित्वको ग्राफ अकल्पनीय छ ।

यहाँनेर एउटा प्रसंग उठ्छ, उसो भए नौवटा साना र पाँचवटा ठूला गरी १४ वटा जहाज रहेको निगमले वार्षिक कति आम्दानी गर्छ त ? निगमले मासिकरुपमा १ अर्ब २२ करोड रुपियाँ आम्दानी गर्दै आएको छ । तर, खर्च १ अर्ब ५४ करोड रुपियाँ छ । मासिकरुपमा घाटा मात्रै झन्डै ३२ करोड रुपियाँ छ । उसो भए अर्को प्रश्न पनि उठ्छ, निगमको कुल पुँजीचाहिँ कति छ ? जसले सरकारसँग डुबान रोक्न २० अर्ब रुपियाँ मागिरहेको छ ? निगमको जग्गा, भवन र जहाज इन्जिनसहित ४८ अर्ब ९३ रुपियाँको पुँजी छ ।

जम्मा ७ अर्ब ५९ करोडबराबरका जग्गा तथा भवन रहेको निगमसँग एक महिनाको ब्याजसमेत तिर्न नपुग्ने नगद मौज्दात छ । अर्थात् जम्मा २१ करोड । यस्तो दयनीय अवस्थामा निगमले नाफा कमाउन नसकेमा ऋणमा चुर्लुम्म डुब्नेमा कुनै शंका छैन । आखिर निगम यस्तो टाट पल्टिने अवस्थामा कसरी पुग्यो ? जहाज भाडामा लिँदा र नयाँ खरिद गर्दा कमिसनको खेलमा राष्ट्रिय ध्वजावाहकको टाट पल्टाउने अवस्थामा पु¥याउने खलनायकहरु को–को हुन् ? वायु सेवालाई लुटसेवाको धन्दा बनाउने गिरोहमाथि अख्तियारले किन छानबिन गर्न सकेन ? कहिले वाइड बडीमा चलखेल भएको, डलर काण्ड र माफियाको चलखेलका कारण ऋणमा चुर्लुम्म डुब्न लाग्दा पनि अनियमितताबारे सरकारले छानबिनमा चासो नदेखाउनु विडम्बनापूर्ण छ ।