३ कार्तिक २०८३, मंगलबार

अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन गर्‍यो उदयपुर सिमेन्ट उद्योगले

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, ४ मङ्सिर । उदयपुर सिमेन्ट उद्योगले दुई दिनयता अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन शुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित यस उद्योगले दैनिक ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको जनाएको छ ।

विसं २०४४ मा स्थापना भएको उद्योगले शुरुका वर्षमा ७०० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्दै आएको भएपनि त्यसपछिका वर्षहरुमा विद्युत् अभाव तथा कटौतीका कारण दैनिक ६०० देखि ६५० मेट्रिक टनसम्म मात्र सिमेन्ट उत्पादन हुने गरेको थियो । गत वर्षदेखि सिमेन्टको गियर मेशिन नयाँ परिवर्तन गरेपछि दैनिक ७०० देखि ७५० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन क्षमता बढाएको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो ।

यसपटक २५ दिन उद्योग मर्मत गरेर विभिन्न मेशिन फेरिएको र अहिले विद्युत्समेत पूर्ण आपूर्र्ति भएपछि उद्योगबाट बढी उत्पादन हुने गरेको महाप्रबन्धक पौडेलले बताउनुभयो । दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगको ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरी स्थापनाकालदेखि अहिलेसम्मको सबैभन्दा बढी सिमेन्ट उत्पादनको तथ्याङ्क राखेको महाप्रबन्धक पौडेलले बताउनुभयो ।

अब उद्योगले सिमेन्ट उत्पादनकार्यलाई पूर्ण उत्पादन क्षमता ८०० मेट्रिकटन पु¥याउने पनि उद्योग प्रशासनले बताएको छ । दुई वर्षअघिसम्म वार्षिक रु १० करोडभन्दा माथि घाटामा रहेको उद्योगको भौतिक र प्राविधिक व्यवस्थापन गरेपछि गत वर्ष मात्र रु १५ करोड आम्दानी गरेको थियो । यो वर्ष अहिलेसम्म झण्डै रु ३५ करोडभन्दा बढी नाफा गरिसकेको महाप्रबन्धक पौडेलले बताउनुभयो । –रासस