४ कार्तिक २०८३, बुधबार

फ्रान्सले अन्तिम चारमा स्थान बनाउन सकेन, नेदरल्याण्डसले ठाउँ बनायो

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ४ मंसिर । नेदरल्याण्डस युइएफए नेशन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको नयाँ प्रतिस्पर्धा नेशन्स लिग अन्तर्गत सोमबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा जर्मनीलाई बराबरीमा रोक्दै नेदरल्याण्डस अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

नेदरल्याण्डस समूह ए वानको विजेता बन्दै अन्तिम चारमा पुगेको हो । दुई दिनअघि विश्व विजेता फ्रान्सलाई हराएको नेदरल्याण्डसले अन्तिम समयको गोलले जर्मनीलाई बराबरीमा रोकेको हो ।

पहिलो हाफमा दुई गोल गर्दै जर्मनीले अग्रता लिएको थियो । उसका लागि तिमो वेर्नर र लिरोय सानेले गोल गरेका हुन् । वेर्नरले नवौँ तथा सानेले १९ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा भ्रमण टोली नेदरल्याण्डस खेलमा फर्कियो, त्यो पनि अन्तिम पाँच मिनेट बाँकी हुँदा । उसका लागि ८५ औँ मिनेटमा क्विन्सी प्रोमसले गोल गरे ।

९० औँ मिनेटमा भर्जिल भान डेकले गोल गर्दै खेलमा बराबरी गरे । यो बराबरीले नेदरल्याण्डस फ्रान्सलाई पछि पार्दै समूह विजेता बन्यो र पोर्चुगलमा आउँदो वर्ष हुने सेमिफाइनलमा पुग्यो ।

समान सात अंक भए पनि विश्व विजेता फ्रान्स भने गोल अन्तरमा पछि परेर अन्तिम चारमा स्थान बनाउन सकेन । चार खेलबाट दुई अंक मात्रै जोडेको जर्मनी लिग बी मा रेलिगेट भयो ।