११ कार्तिक २०८३, बुधबार

जसरी पनि उपराष्ट्रपतिलाई लैनचार सार्ने, कार्यालय जोगाउन कर्मचारीहरू विरोधमा उत्रिए

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । लैनचौरस्थित समाजकल्याण परिषद् सफा गर्न सहरी विकास मन्त्रालयबाट गएको टोलीलाई सोमबार त्यहाँबाट फिर्ता गरियो। भविष्यबारे चिन्तित हुँदै परिषद् कर्मचारी दिनभर छलफलमा व्यस्त रहे। काम लिएर आउनेहरू समेत उनीहरूको आन्दोलनप्रति उत्सुक हुँदै सोधीखोजी गरिरहेका थिए। परिषद् कार्यालय सोमबार सुनसान थियो।

कर्मचारीको आन्दोलन कडा पारिएकाले ३ दिनभित्र उपराष्ट्रपतिको कार्यालय र निवासका लागि परिषद् खाली गराउन सहरी विकास मन्त्रालयले बुधबार दिएको निर्देशन कार्यान्वयन हुन सकेन।

भृकुटीमण्डपस्थित पर्यटन विभाग र पर्यटन बोर्ड रहेको स्थानमा सारेर समाजकल्याण कार्यालय सञ्चालन गर्न, निर्देशन अवज्ञा गरे नियमअनुसार कारवाही हुने पत्र मन्त्रालयले पठाएको थियो। उपराष्ट्रपति कार्यालय परिषद्मा सार्ने निर्णय गरेपछि २ महिनादेखि आन्दोलरत कर्मचारीहरू आइतबारदेखि कामकाज ठप्प पारी आन्दोलन कडा बनाएका हुन्।

सरकारको निर्णय कार्यान्वयन गर्न मन्त्रालयमाथि दबाब परेको छ। सोमबार सदस्यसचिवहरूले केही वरिष्ठ कर्मचारीसँग बैठक गरे। ‘बैठकमा आन्दोलन गर्ने कर्मचारीलाई कारवाही र प्रहरी लगाएर हस्तक्षेप गर्ने, ब्यानर हटाउने र परिषद् नै विघटनसमेत गर्न सक्ने चेतावनी दिएर आन्दोलनबाट फिर्ता हुन धम्की दिनेसम्मका कुरा पदाधिकारी र सदस्यसचिवबाट आएका छन्’, परिषद्कै एक उच्च अधिकारीले भने, ‘उहाँहरूमाथि सरकारी निर्णय कार्यान्वयन गरी परिषद् खाली गर्न दबाब रहेछ।’

यता आइतबार नै गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सहरी विकास मन्त्रालयका सचिवसहितको बैठक बस्यो। बैठकले निर्णय जसरी भए पनि कार्यान्वयन गर्ने टुंगो लगायो। परिषद्लाई केन्द्रीय बालकल्याण समितिमा सार्ने विकल्प पनि अघि सारियो।

परिषद्को भोगचलनमा रहेको जग्गामा सहरी विकासले भवन निर्माण गर्ने र बजेटका लागि अर्थ मन्त्रालयसँग अनुरोध गर्नेसमेत निर्णय गर्‍यो। मौखिक निर्णय परिषद्का कर्मचारीलाई जानकारी गराइयो तर उनीहरू सहमत भएनन्।

कर्मचारीको आन्दोलनले सरकार अप्ठ्यारोमा परेपछि विकल्प दिन तयार त भयो तर माग सम्बोधन हुने हिसाबले लिखित रूपमा भएन। कर्मचारी आन्दोलन रोक्न तयार भएनन्। सरकारले यसपूर्व भृकुटीमण्डपस्थित पर्यटन विभागको भवनमा सार्ने विकल्प दिएको थियो। त्यो भवन परिषद् कार्यालय सञ्चालन गर्न अपुग हुने कर्मचारीको भनाइ छ।