महेन्द्रनगर, १४ माघ । आयोजक लिटिल बुद्ध एकेडेमी र आदर्श उमावि महेन्द्रनगरमा जारी ‘प्रथम एलबिए ट्वान्टी–२० कप क्रिकेट प्रतियोगिता’ को उपाधिका लागि विहीबार भिड्ने भएका छन् ।
बुधबार सम्पन्न सेमी फाइनल खेलमा लिटिल बुद्धले जनज्योतीलाई र आदर्शले महेन्द्रनगर उमाविलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका छन् ।
पहिलो सेमी फाईनल खेलमा लिटिल बुद्धले जनज्योतीमाथि ४९ रनको फराकिलो जित हात पार्दै फाईनल प्रवेश गरेको छ । साँझ सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आदर्शले संघर्षपूर्ण खेलमा महेन्द्रनगर उमाविलाई सात रनको झिनो अन्तरले पाखा लगाउँदै उपाधिका लागि आफ्नो दावेदारी प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको आदर्शका लागि अलराउण्डर किरन ठगुन्नाले अर्धशतकीय पाली खेले । लिग चरणको अन्तिम खेलमा प्रतियोगिताको एक मात्र शतकीय पाली खेलको किरनले सेमी फाइनलमा पनि आक्रामक ब्याटिङ गर्दै ४७ बलमा ५६ रनको योगदान दिए । किरनसंग लामो साझेदारी गरेको हरिश अधिकारीको ३२ रनको सहयोगले आदर्शले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३९ रनको योगफल तयार गरेको थियो ।
महेन्द्रनगर उमाविका लागि कृष्ण तिवारीले दुई र नरेश बोहरा, रोहित चन्द र दिपक कार्कीले एक÷एक विकेट लिएका थिए ।
जवाफि ब्याटिङमा राम्रो सुरुवात गर्न नसकेको महेन्द्रनगर उमाविका लागि नरेश बोहरा र कृष्ण तिवारीले ३८ र २६ रनको महत्वपूर्ण पाली खेले पनि हार टार्न सकेनन् । उसका लागि यज्ञ ऐरले १३ रनको योगदान दिए पनि सात विकेटको नोक्सानीमा एक सय ३२ रन मात्र बनाउन सक्यो ।
यसअघि भएको पहिलो सेमी फाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लिटिल बुद्धले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिङमा जनज्योतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९७ रन मात्र जोड्न सक्यो ।
जनज्योतीका लागि अमित कुवँर र ललित धामीले क्रमशः १९ र १८ रनको पाली खेले पनि जित नजिक पु¥याउन सकेनन् । लिटिल बुद्धका लागि प्रविण अवस्थीको कसिलो बलिङ जनज्योतीको विजयमा बाधक बन्यो । प्रविणले चार ओभरमा ११ रन खर्चेर चार विकेट लिए । त्यस्तै लिटिल बुद्धका लागि विद्यान देउवाले तीन ओभरमा १४ रन दिएर एक विकेट हात पारे ।
यसअघि लिटिल बुद्धका लागि खेलका म्यान अफ दि म्याच शुसिल खड्काको अर्धशतकीय पाली खेले । उनले ३२ बलको सामना गर्दै ५५ रन बनाएका थिए । जनज्योतीका संजय पन्त र धिरज बिष्टले चार ओभरको स्पेलमा समान चार÷चार विकेट हात पारेका थिए ।
प्रतियोगिताको फाइनल खेल विहीबार बिहान ११ बजे खुला मञ्चमा हुने आयोजकले जनाएको छ । उपाधि विजेता टीमलाई ५१ हजार र उप विजेता टीमलाई २५ हजार रुपैयाँ पुरस्कार राखिएको संयोजक महेन्द्र बहादुर चन्दले बताए ।













प्रतिक्रिया