काठमाडौं, १४ माघ । नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले सञ्चार नीति पत्रकारहरुको हितमा हुनुपर्ने बताउनुभएको छ ।
सञ्चार प्रतिष्ठान नेपाल धनगढीले बुधबार काठमाडौंमा आयोजना गरेको परिवर्तित अवस्थामा राष्ट्रिय सञ्चार नीति नीतिगत सम्वादमा अध्यक्ष विष्टले सञ्चार मन्त्रालयले ल्याउन लागेको नीति पत्रकारहरुको हितमा हुनुपर्ने बताउनुभएको हो ।
‘दुर्गमको कर्णाली होस, वा सुदूरपश्चिमको डोटी सबै क्षेत्रका श्रमजिवी पत्रकारले आत्मसाथ गर्न सक्ने गरी सञ्चार नीति परिवर्तन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि कम्तीमा पनि क्षेत्रीय स्तरमा देशभरीको पत्रकारिताको अध्ययन गर्नुपर्छ ।’
कर्णालीका पत्रकारको अवस्था स्मरण गर्दै उहाँले भन्नुभयो, ‘१ सय ५० को समाचारका लागि ३ हजार खर्च गर्नुपर्ने अवस्था रहेछ ।’ उहाँले सबै क्षेत्रको भुगोल, बनावट हेरेर सबैलाई सहज हुने खालको नीति ल्याउन सञ्चार मन्त्रालयलाई आग्रह समेत गर्नुभयो । ‘एकलौटी लाद्ने खालको नीतिले सञ्चारलाई थप अस्तव्यस्त बनाउछ,’ उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्डबहादुर कार्कीले पत्रपत्रिका वर्गिकरण असन्तुष्टि नजनाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । ‘मापदण्ड अनुसार हामीले काम गरेका छौं,’ उहाँले भन्नुभयो, ‘मापदण्डमा एकदुईको तलमाथी भएको हुनसक्छ, व्यक्तीगत हितमा संस्थाकै विरोध गर्न हुदैन ।’
उहाँले अब परिवर्तन हुने सञ्चार नीतिले सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग पुर्याउने विश्वास गर्नुभयो । प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले पनि पत्रकारिता क्षेत्रलाई सहि बाटोमा ल्याउने गरी सञ्चार नीति परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।
आयोजक सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष प्रकाश शाहले समापन गरेको कार्यक्रममा सञ्चार प्रतिष्ठान नेपालका कार्यक्रम संयोजक अग्रज पत्रकार मनमोहन स्वाँरले सहजिकरण गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाउँले, धर्मेन्द्र झा, राष्ट्रिय छापा सञ्चारमाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडी, फोनिज अध्यक्ष दण्ड गुरुङ, फ्रिडम फोरम अध्यक्ष तारानाथ दाहाल, वरिष्ठ पत्रकार हस्त गुरुङ, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष खेम भण्डारीले अनुसन्धान तथा छलफल गरी सुहाउदो नीति ल्याउनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउने, महासचिव उजिर मगर, केन्द्रीय सदस्य लक्की चौधरी, पूर्व सचिव रामजी दाहाल, अग्रज पत्रकार शरद गौतम कान्तिपुर पब्लिकेशनका भुवन केसी, तिलक पाठक, राजधानीका दिपक ओलीले पनि कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।















प्रतिक्रिया