११ कार्तिक २०८३, बुधबार

कतारविरुद्ध नाटक देखाउने यी नेपालीहरू पक्राउ

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, ३० कात्तिक । तीन साताअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाइएको छैन । घटनाबारे सरकारी निकाय पनि मौन देखिएका छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

पक्राउ पर्नेमा एनआरएन मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ण ढकाल छन् । क्षत्री शाखाका उपाध्यक्षसमेत हुन् ।

अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए । गायक प्रकाश सपुतको ‘बोल माया’ गीतमा रोजगारदाताले कामदारलाई दिएको पीडा अभिनयमार्फत् प्रस्तुत गरिएको थियो ।

नेपालबाट कतार आउँदा रोजगारदाताको शोषणमा पर्ने र अन्ततः मृत्यु भइ बाकसमा फर्कनुपर्ने अवस्थाको चित्रण अभिनयमा गरिएको थियो । अरबी पोसाक (कन्दुरा) लगाएको कतारी मालिकले नेपाली कामदारमाथि ज्यादती गरेको दृश्य देखाइएको थियो ।

अक्टोबर १८ मा सादा पोसाकमा आएका प्रहरीले उनीहरूलाई पक्रेको हो । पक्राउ परेकामध्ये शर्मालाई भने गत बिहीबार करिब १५ मिनेट परिवारसँग कुरा गर्न दिइएको थियो । अन्यलाई आफन्तसँग भेट्न तथा कुरा गर्न दिइएको छैन ।

एनआरएन संयोजक शर्मा उक्त कार्यक्रमका अतिथि थिए । उनलाई सुरक्षा निकायले त्यस किसिमको कार्यक्रम किन नरोकेको भनी सोधखोज गरिरहेको जनाएको छ ।

अभिनयको भिडियो युट्युबमा राखिएपछि कतार सरकारले अनुसन्धान सुरु गरेको थियो । त्यसपछि अभिनयमा संलग्न कलाकार र शर्मालाई प्रहरीले समातेको हो ।

एनआरएन अन्तर्राष्ट्रिय समितिले उनीहरूको रिहाइको पहल गर्न नेपाल सरकारसँग अनुरोध गरेको छ । ‘मध्यपूर्व संयोजक शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेको विषयले गम्भीर ध्यानाकर्षण गराएको छ,’ एनआरएन प्रवक्ता भूषण घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संयोजक शर्माबारे विभिन्न समाचार र सामाजिक सञ्जालमा भएका टीकाटिप्पणीको खण्डन पनि एनआरएनएले गरेको छ ।