२ कार्तिक २०८३, सोमबार

चितवनका सरकारी कार्यालयलाई सुशासनमैत्री बनाईने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwan-officeआनन्द पोखरेल
भरतपुर, १४ माघ । चितवनका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले आफ्ना कार्यालयमा सुशासन कायम गर्दै जाने बताएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर विके, स्थानीय विकास अधिकरी अधिकारी भरतमणि पाण्डेलगायतले कार्यालयमा जनतालाई छिटो र छरितो सुविधा दिनको लागि कार्यालयमा सुशासन कायम गर्दै लैजाने बताएका हुन् ।

जनताको सेवाको लागि काम गर्नुपर्ने सरकारी कार्यालयले गैर सरकारी संस्थाको दबाब पछि मात्र आफ्नो काम कारवाहीमा सुधार ल्याएका छन् । मंगलबार भरतपुरमा आयोजित कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरुले आफ्ना कार्यालयमा एलाकडीपी कार्यक्रम लागू भएपछि कार्यालयमा सदाचार बढेको बताएका छन् । ट्रान्सफरेन्सी इन्टरनेशनल नेपालले जनताको चाप बढी हुने कार्यालयहरुमा एलाकडीपी कार्यक्रम लागू गर्दै आएको छ ।

सरकारी कार्यालयले सेवाग्राहीलाई दिने सेवामा समय सापेक्ष सुधार गर्दै लैजानु पर्नेमा गैरसरकारी संस्थाका कारण आफूहरुको सेवामा सुधार आएको चितवनका प्रमुख जिल्ला अधिकारीले गर्वका साथ सुनाए । मङ्गलबार भरतपुरमा भ्रष्टाचार विरुद्ध अभियान नेपाल चितवनले आयोजना गरेको सदाचार प्रतिवद्धता कार्यान्वयन समीक्षा कार्यक्रममा चितवनका प्रजिअ विकेले कार्यक्रम लागू भएपछि कार्यालयमा विद्युतीय हाजिर प्रणाली सुरु गरिएको बताए ।

‘म चितवन आउनभन्दा अगाडिदेखिनै प्रशासन कार्यालयमा एलाकडीपी कार्यक्रम लागू भएको रहेछ’ डाक्टर विकेले भने, –‘त्यसपछि कार्यालयमा धेरै सुधार भएका छन् ।’ हालका दिनमा अधिकृत स्तरका कर्मचारीहरुसँग दैनिक रुपमा छलफल हुने गरेको समेत विकेले बताए । कार्यालयको आन्तरिक सुरक्षाका लागि सिसि क्यामेरा समेत जडान गरिएको विकेले जनाए ।

सरकारी कार्यालयमा सेवाग्राहीको पीर मर्कालाई सुन्नको लागि, तथा सूचना सम्प्रेषणको लागि नेपाल सरकारले सूचना अधिकृतको व्यवस्था गरेको हुन्छ । सरकारी कार्यालयमा जनताको गुनासो सुन्ने र उक्त गुनासो सम्बोधन गर्नुपर्ने राष्ट्र सेवक कर्मचारीको दायित्व समेत हो । तर, यस कार्यका लागि समेत गैरसरकारी संस्थाले सदाचारमा हस्ताक्षर गराएपछि जिल्ला प्रशासन कार्यालयमा गुनासो सुन्ने अधिकारीको रुपमा सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको विकेले बताए ।

कार्यालयबाट दिइने सेवामा सुधार गर्दै जिल्ला प्रशासन कार्यालय तथा मातहतका कार्यालयमा सुशासन कायम गर्दै लैजाने समेत विकेले बताए ।

त्यसैगरी, चितवनका स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले एलाक डिपी कार्यक्रम लागू भएपश्चात कार्यालयको पारदर्शीता र सदाचारमा टेवा पुगेका बताए । हरेक क्षेत्रमा हुने गरेका गतिविधि पारदर्शी हुनुपर्ने सरकारी कार्यालयमा गैरसरकारी संस्थाको कार्यक्रम लागू भएपछि मात्र पारदर्शीता र जवाफदेहिता भएको भन्न स्थानीय विकास अधिकारी पाण्डे पछि हटेनन् ।

अहिले कार्यालयमा ईमेल, फोनबाट आएका गुनासोहरु सुन्ने र त्यसलाई तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको समेत पाण्डेले बताए । जिल्ला विकास समिति चितवनले चितवनमा रहेका सम्पूर्ण कार्यालयहरुको नागरिक वडापत्रको पुस्तक प्रकाशित गरेको जानकारी दिँदै पाण्डेले चाँडैनै जिल्ला विकास समितिमा डिजिटल नागरिक वडापत्र बनाउन लागिएको बताए ।

कार्यक्रममा जिल्ला मालपोत कार्यालय, चितवनका मालपोत अधिकृत भीष्मराज भट्टराईले हाल कार्यालयबाट सेवाग्राहीलाई छिटो र छरितो रुपमा सेवा प्रदान गर्दै आइएको बताए । कार्यालयले सदाचार प्रतिवद्धता जनाएपछि सेवाग्राहीहरुको गुनासोमा कमी आएको समेत भट्टराईले बताए । हाल मालपोत कार्यालयबाट हुने सबै काम पारदर्शी रुपमा अगाडि बढेको समेत भट्टराईले दाबी गरे ।

उक्त कार्यक्रममा भ्रष्टाचार विरुद्ध अभियान नेपाल चितवनका सचिव निलकण्ठ ढुङ्गानाले कार्यालयमा सेवामैत्री वातावरण निर्माण गरिनुपर्ने बताए । हरेक क्षेत्रमा हुने भ्रष्टाचारको विरुद्धमा सबै ठाउँबाट आवाज उठाउनुपर्ने ढुङ्गानाले बताए ।

भ्रष्टाचार विरुद्ध अभियान नेपाल चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोइराला, नागरिक समाजका अगुवा डाक्टर देवेन्द्रराज पाण्डे, ट्रान्सपरेन्सी नेपालका अध्यक्ष भरतबहादुर थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा डाक्टर इश्वरीराज लौडारीले स्वागत मन्तव्य राखेका थिए ।