
काठमाडौँ, २७ कार्तिक । पाकिस्तान टी–ट्वान्टी क्रिकेटको बरियतामा शीर्ष स्थानमा कायमै रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार राति सार्वजनिक गरेको बरियतामा पाकिस्तान शीर्ष स्थानमा कायमै रहन सफल भएको हो ।
पाकिस्तान पछिल्लो ३६ खेलबाट ४ हजार ९७९ अंक र १३८ रेटिङ प्राप्त गर्दै शीर्ष स्थान ओगट्न सफल भएको हो । टी–ट्वान्टी बरियताको दोस्रो स्थानमा भने भारत छ । भारतले ४० खेलबाट ५ हजार ६४ अंक प्राप्त गर्दा उसको १२७ रेटिङ गरेको छ । तेस्रो स्थानमा अष्ट्रेलिया रहँदा चौथो स्थानमा इंग्ल्यान्ड, पाँचौंमा न्युजिल्यान्ड र छैटौंमा दक्षिण अफ्रिका छन् ।
आईसीसी बरियताको सातौं स्थानमा वेष्ट इन्डिज रहँदा आठौं स्थानमा भने अफगानिस्तान छ । अफगानिस्तानले श्रीलंका, बंगलादेश र जिम्बाब्वेजस्ता टेष्ट नेशन राष्ट्रलाई पछि पारेको छ ।
श्रीलंका नवौं, बंगलादेश १० औं, स्कटल्यान्ड ११औं र १२औं स्थानमा जिम्बाब्वे रहेका छन् । त्यस्तै, १३ औं, १४ औं, १५ औं , १६ औं र १७ औं बरियतामा क्रमशः युएई, नेदरल्यान्ड्स, हङकङ, ओमन र आयरल्यान्ड रहेका छन् ।
यसैबीच, नेपालका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि–ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा पर्न सफल भएका छन् ।
कप्तान पारस ब्याटिङ, र अलराउन्डर गरी तीन मध्ये २ वटा विधाको बरियतामा पर्न सफल भएका हुन् । उनी अलराउन्डरमा ४१औं स्थानमा रहेका छन् । उनले इंग्ल्यान्डका जाइ रुट, बेन स्टोक्स, दक्षिण अफ्रिकाका क्रिस मोरिस, पाकिस्तानका हसन अली, इमाद वासिम जस्ता विश्वचर्चित खेलाडीलाई पछि पारेका छन् ।
त्यस्तै, कप्तान पारस ब्याटिङमा ९३औं स्थानमा उक्लिएका छन् । पारसले वेष्ट इन्डिजका एन्ड्रे रुसेल, कैरोन पोलार्ड, अष्ट्रेलियाका क्रिस लिन जस्ता खेलाडीलाई पछि पारेका छन् । त्यस्तै, नेपालको युवा बलर सोमपाल कामी पनि टि–ट्वान्टी क्रिकेटको दुबै विधामा परेका छन् । सोमपाल बलिङतर्फ ९४ औं स्थानमा छन् भने अलराउन्डरमा ६४ औं स्थानमा रहेका छन् ।
त्यस्तै बलिङतर्फ नेपालकै बसन्त रेग्मी पनि पर्न सफल भएका छन् । बसन्त ७५ औं स्थानमा छन् । टि–ट्वान्टी क्रिकेटको ब्याटिङ बरियताको शीर्ष स्थानमा भने पाकिस्तानका बाबर अजाम रहेका छन् ।
त्यस्तै, बलिङतर्फ अफगानिस्तानका युवा बलर राशिद खान रहदा अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल रहेका छन् ।















प्रतिक्रिया