
काठमाडौं । चलचित्र लिली विलीबाट लोकप्रियता हाँसिल गरेका जोडी प्रदीप खडका र जसिता गुरुङ अभिनित अर्को चलचित्र लभ स्टेशनको काठमाडौंमा छायाँकन भईरहेको छ । चलचित्रको दुई ओटा गीत बाहेकको बाँकी छायाँकन तिहार अघि नै काठमाडौंमा सकिने निर्माण पक्षले जनाएको छ ।
दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत छायाँकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायाँकन सकेर चलचित्र चलचित्र ‘लभ स्टेशन’को युनिट २ दिन अघि काठमाडौं आएको हो ।
काठमाडौंको बाँकी १० प्रतिशत छायाँकन यतीबेला भईरहेको छ । तिहारसम्ममा काठमाडौंको छायाँकन सम्पन्न गर्ने यसका निर्माता गोविन्द शाहीले बताए । चलचित्रको १२ असोजबाट दर्जिलिङदेखि छायाँकन सुरु गरिएको थियो ।
‘हामीले लक्ष्मीपु जासम्म करिब ९० प्रतिशत छायाँकन सक्दैछौं । अब तिहारपछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिच्दै चलचित्रको छायाँकन सम्पन्न गर्नेछौं’ निर्माता शाहीले भने, ‘हामीले तोकेको निर्धारित ४५ दिन भित्रै चलचित्रको सम्पूर्ण छायाँकन सम्पन्न हुँदैछ । लभ स्टेशनलाई अब यो बर्षको अन्तिमसम्ममा हामी देशव्यापी सिनेमा हलमा रिलिज गर्नेछौं ।’
यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । जसमा प्रदीप, जसिताले अहिलेसम्मकै राम्रो काम यसमा गरेको पनि निर्देशक घिमिरेको भनाई छ ।
यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।
लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।















प्रतिक्रिया