काठमाडौं, १८ कात्तिक । आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण पूरा गरी गत बिहीवार कतारबाट स्वदेश फर्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी एक महिनापछि यूरोप भ्रमणमा जाने तयारीमा जुटेकी छिन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
भण्डारी आगामी मंसिर दोस्रो साता पोल्यान्ड भ्रमणमा जाने राष्ट्रपति कार्यालयले जनाएको छ । जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो । दुई साता लामो राष्ट्रसंघिय २४ औं वार्षिक सम्मेलन आगामी मंसिर १६ देखि पोल्यान्डको काटोइसमा शुरु हुँदैछ ।
आयोजकले यसपटक अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई पनि निम्तो पठाएको छ । सरकारले राष्ट्रपतिको भ्रमणको औपचारिक निर्णय गर्न भने बाँकी छ । त्यस्तो निर्णय हुन बाँकी भएपनि भ्रमणबारे राष्ट्रपतिले चासो लिएसँगै यसबारेको तयारी अघि बढिरहेको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए ।
सम्मेलनमा नेपालले उठाउनुपर्ने एजेन्डा, विगतमा नेपालको सहभागिता, हालसम्म प्राप्त उपलब्धी जस्ता विषयमा राष्ट्रपति कार्यालयले वन तथा वातावरण मन्त्रालयसँग चासो लिएको बताइएको छ ।















प्रतिक्रिया