११ कार्तिक २०८३, बुधबार

यो अबैध काममा कसले फसायो राष्ट्रपतिलाई ?

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । अघिल्लो शुक्रबार आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोतियोगिताको ट्रफी नेपाल भ्रमणमा ल्याइयो। ट्रफी चार दिन नेपालमा रह्यो। अर्को वर्ष आयोजना हुने एक दिवसीय विश्वकपअघि संसारव्यापी क्रिकेटको माहोल तयार पार्न ट्रफी नेपाल ल्याइएको थियो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

ट्रफीलाई राष्ट्रपति भवन पुर्‍याइयो। राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले ट्रफी उचालेर तस्विर पनि खिचाइन्। ट्रफी नेपाल घुमाएर फिर्ता लगिसकिएको छ। तर, त्यसको आगमनबारे देशको कुनै पनि आधिकारिक निकायलाई जानकारी नगराइएको रहस्य खुलेको छ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपाली खेलकुदका दुई नेतृत्वदायी निकाय हुन्। दुवै निकायले विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याइएकोबारे आफूहरूलाई कुनै जानकारी नगराइएको दाबी गरेका छन्।

ट्रफीलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीसँग पनि भेटाउने प्रयास गरिएको थियो। उपराष्ट्रपति कार्यालयले यसबारे मन्त्रालय र राखेपसँग सल्लाह गर्‍यो। दुवै निकायले आधिकारिक जानकारी नभएको बताएपछि उपराष्ट्रपति कार्यक्रममा उपस्थित भएनन्। प्रधानमन्त्रीसँग अस्वस्थताका कारण भेट सम्भव भएन।

‘विश्वकप ट्रफी नेपाल ल्याइएकोबारे राखेपलाई कुनै आधिकारिक जानकारी छैन। ट्रफी नेपाल आइसकेपछि एउटा कार्यक्रममा मलाई मौखिक आमन्त्रण गरिएको थियो’, राखेप सदस्यसचिव केशवकुमार विष्टले भने, ‘आधिकारिक सूचना नभएकाले म गइनँ।’

सदस्यसचिव विष्टले कसले र किन विश्वकप ट्रफी नेपाल ल्याएको हो भन्ने विषयमा आफूलाई थाहा नभएको बताए। ‘मैले समाचारहरू पढेर धेरै कुरा थाहा पाएको हुँ। विश्वकप ट्रफी नेपाल ल्याइनु ठूलो कुरा हो। तर, आधिकारिक निकायहरूसँग समन्वय भएको भए राम्रो हुन्थ्यो’, उनले भने। उपराष्ट्रपति कार्यालयले ट्रफीबारे आफूलाई सोधेको विष्टले पुष्टि गरे।

युवा तथा खेलकुद मन्त्रालयले पनि ट्रफीबारे कुनै जानकारी नभएको बतायो। खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माका सहायक स्वकीय सचिव भरत गुरुङले भने, ‘विश्वकप ट्रफी नेपाल ल्याउने विषयमा मन्त्रालयसँग कुनै अनुमति लिइएन। ट्रफी भ्रमणको कार्यक्रम तय गर्दा पनि कुनै सल्लाह गरिएन। मन्त्रालय र मन्त्रीज्यूलाई यसबारे जानकारी नै गराइएको थिएन।’

ट्रफी नेपाल ल्याएपछि एउटा कार्यक्रमका लागि भने मन्त्रीलाई मौखिक आमन्त्रण गरिएको गुरुङले बताए। ‘वसन्तपुरमा आयोजित कार्यक्रममा मन्त्रीज्यूलाई मौखिक आमन्त्रण गरिएको थियो। तर, ट्रफी कसरी आयो भन्ने जानकारी नभएकाले उहाँ कार्यक्रममा जानुभएन’, गुरुङले भने।

बिना निम्तो र बिना जानकारी विश्वकप ट्रफी कसरी नेपाल भ्रमणमा ल्याइयो भन्नेबारे छानबिनको तयारी भइरहेको उनले सुनाए।

आईसीसी विश्वकपको १२औं संस्करण सन् २०१९ को मे ३० देखि जुलाई १४ तारिखसम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ। विश्वकप सुरु हुनुअघि विश्वव्यापी रूपमा क्रिकेटको लोकप्रियता बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पाँचवटै महादेशमा ट्रफी टुर गराउन लागेको हो। विश्वकप सुरु हुनुअघि आईसीसीले ट्रफीलाई २१ राष्ट्रका ६० भन्दा बढी सहरमा पुर्‍याउने योजना बनाएको छ। सोही क्रममा विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याइएको थियो।