काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच सुपुर्दगी सन्धि गर्ने समझदारी भएको थियो ।
सो समझदारीले नेपालमा रहेका केही तिब्बती शरणार्थीमा त्रास फैलिएको छ । सन्धिपछि आफूहरूलाई नेपाल सरकारले सुपुर्दगी गरेर चीन पठाउन सक्ने उनीहरूको चिन्ता छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
असारको पहिलो साता भएको प्रधानमन्त्रीको चीन भ्रमणपछि जारी संयुक्त वक्तव्यको बुँदा नम्बर १० मा दुई देशबीच पारस्परिक कानुनी सहायता तथा सुपुर्दगी सन्धिका लागि दुवै पक्ष सहमत भएको उल्लेख छ ।
सन्धिअन्तर्गत नेपालमा बसेर चीनविरोधी गतिविधि गर्नेलाई आपराधिक गतिविधिमा संलग्न रहेको भनेर चीनले लैजान सक्ने भन्दै उनीहरूले सन्धिमा चासो दिएका छन् । एक समूह त सन्धि हुनै नदिनसमेत दबाब दिन थालेको स्रोत बताउँछ ।
सुपुर्दगी सन्धिका विषयमा सामान्य छलफल भए पनि विस्तृत तयारी सुरु नभएको गृह मन्त्रालयका एक अधिकारीले बताए । तिब्बती शरणार्थी अन्तर्राष्ट्रिय मुद्दा बन्दै आएको छ ।
पश्चिमी देशहरूले तिब्बतमा चीन सरकारले दमन गरेको विषय अन्तर्राष्ट्रिय फोरममा उठाउँदै आएका छन् भने चीनले भने यो विषयलाई अतिरञ्जित बनाइएको बताउने गरेको छ । नेपाललाई दुवै पक्षले आ–आफ्नो स्वार्थका लागि दबाब दिँदै आएका छन् ।















प्रतिक्रिया