काठमाडौँ, १३ माघ । नेपाली काँग्रेस, नेकपा एमाले लगायतका दलहरुले संविधान निर्माणको प्रक्रिया र त्यसमा अन्य दलहरुको सहमति खोज्ने प्रयास सँगसँगै अघि बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा सबै दलको समर्थन लिएर संविधान निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरिएको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
“माघ ११ गते गठन भएको प्रस्ताव निर्माण समितिमा उपस्थित नभएका दललाई समितिमा सहभागी हुन बैठकले आग्रह गरेको छ ।”- पौडेलले भन्नुभयो ।
बैठकले विद्यमान संविधान, विधिको शासन र लोकतान्त्रिक मर्यादाको सम्मान गर्दै छिटोभन्दा छिटो नयाँ संविधान जारी गर्न प्रस्ताव निर्माण समितिमा सहभागी हुन र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न एनेकपा माओवादी सम्बद्ध मोर्चा तथा साझा मुद्दाका लागि गठित संयुक्त मञ्चका नेताहरुलाई आग्रह गर्दै विधि र नियम बमोजिम संविधानसभाको निर्णय प्रक्रियालाई निरन्तर रुपमा अघि बढाउन आह्वान गरेको छ ।
बैठकपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सकेसम्म सहमति कायम गर्दै संविधान निर्माण प्रक्रियालाई अघि बढाउनुपर्छ भन्ने विषयमै बैठक केन्द्रित भएको जानकारी दिनुभयो ।
बैठकमा काँग्रेस र एमालेको अलवा राप्रपा, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दललगायतका राजनीतिक दलहरुको सहभागिता थियो ।
















प्रतिक्रिया