
काठमाडौं । यौनहिंसाविरुद्धको विश्वव्यापी अभियान ह्यासट्याग मिटु अभियानमा मुख खोलेकी अभिनेत्री बेनिशा हमालले एउटा कर्पोरेट बैंक र त्यसका उच्च पदस्त कर्मचारीमाथि आक्षेप लगाइन् ।
एउटा विज्ञापनको सुटिङपछि बैंकका उच्च तहका कर्मचारीले नगरकोट घुम्न जाने प्रस्ताव गरी यौनहिंसा गरेको उनले मिडियामा उल्लेख गरिन् । पछिल्ला समय फिल्म पाउन छाडेपछि लामो समय अस्ट्रेलिया बसेकी हमालले चर्चामा आउनका लागि नै यस्तो भनेको टिप्पणी धेरैले गरेका छन् । तर, उनले यस घटनालाई विश्वव्यापी अभियानसँग जोडेकी छन् ।
एकजना कर्पोरेट कार्यालयका प्रमुख भन्छन्,‘हामीले विज्ञापन बजारमा धेरै अभिनेत्रीलाई व्यावसायीक सर्तअनुसार काम दिएका हुन्छौं । त्यो काम एजेन्सीले गर्छ । भेट्ने फुर्सद हुँदैन । अनि कसरी उच्च पदस्त कर्मचारीमाथि आक्षेप लगाइन्छ ? चर्चामा आउने बहानाभन्दा केही लागेन ।’
हलिउड, बलिउडमा कलाकार, निर्माता र निर्देशकको यौनहिंसाविरुद्ध मिटु अभियानमा अभिनेत्रीको संलग्नता रहेको देखिन्छ ।
तर, सानो उद्योग भएका कारणले नेपाली फिल्म उद्योगभित्र यस्तो आवाज उठ्न सकेको छैन । मिटु अभियानको वकालत गर्ने अर्की अभिनेत्री केकी अधिकारीले आफु स्कुल पढ्दाको विषय उठान गरेकी छन् । तर, फिल्म उद्योगमा उनीमाथि यौनजन्य दृष्टिबाट कति पटक प्रस्ताव आए भन्ने खुलाउन चाहेकी छैनन् ।
एउटा अन्तरवार्तामा उनले भनेकी छन्,‘नेपाली फिल्मभित्र पनि यस्ता हर्कत नभएका होइनन् । तर हामीले साथ दिन सकेनौं । यस्ता विषय किन उठान गर्न हामी पछि परेका थियौं ?’
उनको प्रसङ्ग थियो, सुनिल रावलविरुद्ध उनकी अभिनेत्री स्यारोन श्रेष्ठले लगाएको यौनहिंसाको आरोप । तर उनीबाहेक नेपाली फिल्ममा उद्योगमा यौनहिंसाको विषय उठान गरी प्रायः अभिनेत्री मिटु अभियानमा जोडिन सकेका छैनन् ।
‘कतिपय अभिनेत्रीले काम नपाउने डरका कारण पनि आफुलाई खोल्न सकेका छैनन् । कतिपय कामका लागि नै निर्माता निर्देशकसँग लचक बनिदिने प्रवित्ति पनि उद्योगमा हावी छ । त्यसैले यहाँभित्र मिटु अभियानका नाममा घटना खुल्न नसकेका होलान्’, एक जना निर्माताले भने,‘फिल्म निर्माण गर्ने जिम्मा पाएकाले अभिनेत्री प्रभावमा पार्ने काम गरेको छैन न त त्यस्तो दृष्टिकोण राखेरै फिल्म बनाइन्छ ।’
नेपाली फिल्म उद्योगभित्र ‘सेक्सुअल एब्युज’ अथवा ‘सेक्सुअल रिलेशन’मार्फतको मौका पाउने विषय ओपन सेक्रेटजस्तै सहरबजार र चियाचौतारोमा छलफल हुन्छन् । बजार सानो र नामी निर्माता निर्देशक कम भएका कारणले पनि कतिपय अभिनेत्री खुल्न नसकेको हुनसक्ने अधिकारकर्मीहरू बताउँछन् ।
केही अभिनेत्री खुलेर यस अभियानको पक्षबाट बोल्दैगर्दा उनीहरूले फरक व्यावसायीक क्षेत्रलाई आक्षेप लगाएका छन् । तर आफ्नै क्षेत्रमा भएका यस्ता घटना सार्वजनिक हुन नसक्नु पछाडीका कारण भने खुलेर बोल्ने गरेका छैनन् ।















प्रतिक्रिया