लण्डन, १२ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिमले एभर्टनलाई २–१ ले हराएको हो ।
आइतबार राति भएको खेलमा म्यानचेस्टरको जितमा पउल पोग्बा र एन्थोनी मार्सलले गोल गरे । एभर्टनका लागि गिल्फी सिगुडर्सनले एक गोल फर्काए । च्याम्पियन्स लिग फुटबल अन्तर्गत युभेन्टससँगको खेलमा हार बेहोरेपछिको लिग खेलमा जोसेको टिमले जित दर्ता गरेको हो ।
२७ औँ मिनेटमा पोग्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए । ४९ औँ मिनेटमा मार्सलले गोल गरे । उनले लिगमा लगातार तेस्रो खेलमा गोल गरेका हुन् । ७७ औँ मिनेटमा पाएको पेनाल्टीमा सिगुडर्सनले एभर्टनका लागि एक गोल फर्काए पनि युनाइटेड २–१ ले विजयी भयो ।
यो जितपछि म्यानचेस्टर युनाइटेड १० खेलबाट १७ अंकसहित आठौँ स्थानमा उक्लिएको छ । यो खेलमा म्यानचेस्टर युनाइटेडले लयमा फर्किन थालेको संकेत दियो, किनकी उसको प्रदर्शन निकै राम्रो देखिएको थियो ।
यो खेल अर्को कारणले पनि विशेष बन्यो, त्यो हो गुफामा दुई हप्तासम्म फसेपछि उद्धार गरिएका १२ जना थाइ बालक र उनका प्रशिक्षकले डाइरेक्टरको बक्समा बसेर यो खेल हेरे ।
युनाइटेडका लागि आफ्ना उत्कृष्ट फ्यानको विशेष उपस्थितिको खेलमा जित निकाल्नु उत्तिकै विशेष बन्यो । थाइल्याण्डको एक गुफामा फसेको दुई हप्तामा उद्धार गरिएका १२ बालकले म्यानचेस्टर युनाइटेडको खेल हेर्न आएका थिए । उनीहरु स्थानीय क्लब वाइल्ड बोएर्सका युवा खेलाडी हुन् ।
नियमित प्रशिक्षणपछि स्थानीय गुफामा पसेका उनीहरु गएको जुलाईमा त्यहिँ फसेका थिए । बाढी पसेको गुफाबाट उनीहरुलाई प्रशिक्षकसहित दुई हप्तापछि सकुशल उद्धार गरिएको थियो ।
उनीहरुलाई म्यानचेस्टर युनाइटेडका कार्यकारी सह–अध्यक्ष एड वुडवार्डले निम्ता दिएका थिए । युवा खेलाडीले शनिबार युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होलाई भेटेका थिए । उनीहरुले टिमका खेलाडीहरुलाई पनि भेटे । एजेन्सी















प्रतिक्रिया