जनकपुरधाम, १२ माघ । उचित डम्पिङ साइडको अभाव, नगर क्षेत्रभित्रै जताततै फोहरको थुप्रो, नाला जाम भएर हिलाम्य बाटो, छाडा गाईवस्तुले गर्दा जनकपुरले आफ्नो ऐतिहासिक पहिचान गुमाउन गइरहेको छ ।
उपमहानगरपालिका घोषणा भएको झन्डै दुई महिनाभन्दा बढी समय भइसकेको छ । तर उचित डम्पिङ साइडको अभावमा सडक पेटीमै फोहर फ्याँक्न बाध्य छ– जनकपुर उपमहानगरपालिका । जनकपुरलाई सङ्घीय प्रान्तको राजधानी बनाउन दिनहुँजसो राजनीतिक कसरत हुने गरेको छ ।
जनकपुर उपमहानगरपालिकाभित्र दैनिक २५ टन फोहर निस्कने गरेको छ । तर विसर्जन भने ऐतिहासिक बेला नदी किनार, जिरोमाइल, मुजेलिया, पिराडीको सडक छेउमै उक्त फोहर विसर्जन गर्नाले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको जनगुनासो आउँन थालेका छन् । त्यस्तै, जनकपुरको मुटु मानिने शिव चोकस्थित होटल वेलकमबाट निस्कने फोहरका कारण त्यहाँका व्यापारीलगायत बटुवालाई दुर्गन्धले नाक थुन्नुपर्ने बाध्यता रहेको स्थानीय व्यापारीहरु बताउँछन् ।
“आफ्नो मौलिकता, संरक्षण र विकासमा मात्र सामाजिक समृद्ध सम्भव भएकाले स्वच्छ, सुन्दर र समुन्नत जनकपुरको कल्पना तब नै सम्भव छ जब कि जथाभावी रुपमा फोहर फाल्नाले जनकपुर एकातिर कुरुप बन्दै गइरहेको छ भने अर्कोतिर महामारीको जोखिममा पर्दै गएको छ”, जउनपा–२३ बेला बस्ने मोहम्मद इसराइलको टिप्पणी छ ।
पहिले १६ वडामा सीमित रहेको जनकपुर उपमहानगरपालिका भएपछि २७ वटा वडामा विस्तार भएको छ भने अहिलेको जनसङ्ख्या पुगनपुग एक लाख ७० हजारको हाराहारीमा रहेको छ ।
ऐतिहासिक दूधमति नदी किनारमा फोहर फाल्दा यसको धार्मिक महत्व मासिँदै गएको छ, जनकपुर युथ डेभलपमेन्ट संयोजन समितिका सदस्य सरोजकुमार मिश्र भन्नुहुन्छ, “बस्ती नजिक सडक छेउमा फोहर फाल्ने जुन काम महानगरपालिकाले गरिरहेको छ, त्यसलाई तत्काल रोकी डम्पिङ साइडको व्यवस्था गर्नुपर्दछ ।”
बजार क्षेत्रका व्यापारीहरुले जथाभावी फोहर फाल्दा त्यसले पनि बजारको सौन्दर्यमा प्रभाव पारेकाले आफ्नो घरबाट निस्कने फोहरको व्यवस्थापन जनताले आफैँ गर्नुपर्दछ, जउनपाका इन्जिनियर वीरेन्द्र यादवको भनाइ छ ।
व्यापारीले ढिलो गरी पसल खोल्ने र पसलबाट निस्कने फोहर सडकमै फाल्ने गरेकाले पनि नगर दुर्गन्धित भएको उनको भनाइ थियो ।
जनकपुरको पहिचानको मुख्य आधार यहाँको मठमन्दिर रहेको छ र देश विदेशबाट आउने पर्यटकमध्ये ९० प्रतिशत भारतीय पर्यटक रहेका छन् । तर उनीहरुले जनकपुरको दूरावस्था हेर्दा पुनः फर्केर आउन भने चाहँदैनन् ।
नगर क्षेत्रको फोहर व्यवस्थापन गर्न वार्षिक रु एक करोडभन्दा बढी रकम खर्च हुन्छ भने यसबाट प्रत्यक्ष रुपमा सात हजार पसल तथा चार हजार घरधुरी लाभान्वित हुने गरेको भए पनि जताततै फोहर, जाम नाला, छाडा गाईवस्तु तथा सुँगुरका कारण जनकपुरको ऐतिहासिकता कुरुप बन्दै गई मृत सहरतर्फ उन्मुख भइरहेको छ ।
सरकारले धनुषालाई सन् २०१७ सम्म खुल्ला दिसा मुक्त क्षेत्रका रुपमा घोषणा गर्ने निर्णय लिए पनि कार्यबोधको अभावका कारण यहाँका धेरैजसो मानिस अझै पनि खुल्ला ठाउँमा दिसापिसाब गरिरहेका छन् ।
राजनीतिक दूरदर्शिताको अभावका कारण आज जनकपुरका पूर्वाधारहरु कमजोर बन्दै गएका छन् । जबसम्म राजनीति सही रुपमा कार्यान्वयन हँुदैन तबसम्म सामाजिक विकासका पूर्वाधार जीर्ण बन्दै जाने र नयाँ निर्माण नहुने परिस्थिति बन्ने छन् । स्थानीयवासी लामो समयदेखि जनप्रतिनिधिविहीन हुनु पनि यहाँको भौतिक पूर्वाधार विकासमा अवरोध उत्पन्न भएको हो ।
पर्यटकीय दृष्टिकोणले पनि जनकपुर महत्वपूर्ण मानिन्छ । जानकीको ऐतिहासिक मन्दिर, राम मन्दिर, जनक मन्दिरलगायत अनेकन पर्यटकीय गन्तव्य यहाँ छन् तर तिनको विकास र प्रवद्र्धनतर्फ कसैको ध्यान गएको छैन । यहाँ ऐतिहासिक एवम् परम्परागत पहिचानका माध्यमहरु छन् तर ती सबै ओझेलमा परेकाले जनकपुर सङ्कटग्रस्त देखिन्छ । यहाँका मौलिक सम्पदाको संरक्षण र विकासभन्दा पनि ओहोदामा बस्नेहरुलाई कसरी दोहन गरेर फाइदा लिने भन्नेतर्फ बढी रुचि देखिन्छ ।
एसियाली विकास बैंक (एडिबी) ले यहाँको फोहर व्यवस्थापन गर्न डम्पिङ साइडको निर्माणका लागि रु ६८ करोड उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि राजनीतिक खिचातानीले त्यो काम हालसम्म भएको छैन । रासस
















प्रतिक्रिया