मोहन पौडेल
परासी, ३१ असोज । स्थानीय तहबाटै बजार अनुगमन गर्ने अधिकार पाएपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पहिलो पटक बजार अनुगमन गरेको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन हुँदै आएपनि सरकारले स्थानीय तहबाटै बजार अनुगमन गर्न निर्देशिका बनाएर निर्देशन गरेपनि गाउँपालिका नगरपालिकाबाट बजार अनुगमन भएको थिएन । अधिकार भएर पनि स्थानीय तह मौन बसेको आरोप लागिरहेका बेला रामग्राम नगरपालिकाले भने दसैँको मुखैमा आएर अनुगमन थालेको हो ।
बजार अनुगमनमा रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुंवर आफै सदरमुकाम परासी बजार अनुगमनमा निस्केकी थिइन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहका उपप्रमुखलाई बजार अनुगमनको संयोजकको जिम्मेवारी दिएको छ । नगरपालिकाले परासी बजारका ३० वटा विभिन्न प्रकृत्तिका पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाईएको थियो । अधिकांश मासु पसलले आफ्नै घरबाट मासु काटेर पसलमा ल्याएर बेच्ने, सरसफाईमा ध्यान नदिने गरेको भेटिएको थियो । केही दिन अघि भएको अनुगमनमा खशीको मासु भनेर बाख्रीको मासु बेचिरहेको भेटिएकाले घरमै मासु काटेर बेच्नु शंकास्पद भएकोले अब देखि व्यवस्थीत बधशालामै काटेर मासु बेच्न निर्देशन गरिएको उपमेयर कुंवरले बताइन। अनुगमनमा रहेकी उपमेयर कुंवरले व्यवसायीलाई अस्वस्थकर, अखाद्य वस्तु नबेच्न तथा झुटो बालेर उपभोक्तालाई ठगी नगर्न आग्रह गरेकी थिइन।
यसैगरी किराना, होटल तथा मिठाई पसलमा म्याद नागेका पेय पदार्थ, लेभल नभएका वस्तु विक्री वितरण भईरहेको भेटिएपछि अनुगमन समितिले जफत गरि त्यस्ता वस्तु नष्ट गरेको छ भने आईन्दा फेरि यस्तो लापरबाही दोहोरिए कारवाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको अनुगमनमा सहभागि रामग्राम नगरपालिकाका शाखा अधिकृत राजन श्रीवास्तवले बताए।
पटक पटकको ताकेतापछि नगरपालिकाले बजार अनुगमन सुरु गर्नु राम्रो कदम भएको तर निरन्तरता दिनुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष रामजी ज्ञवालीको तर्क छ । देखावटी अनुगमन भन्दा विज्ञ सहित प्रभावकारी बजार अनुगमन हुनुपर्ने उनले माग गरे । जनप्रतिनिधि आएपछि पहिलो पटक नगरमा अनुगमन गरिएको र अव अनुगमनलाई प्रत्येक महिनाको एक पटक गर्ने गरि निरन्तरता दिने उपमेयर कुंवरले बताएकी छिन्।















प्रतिक्रिया