
काठमाडौं, २१ असाेज । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले थाइल्यान्डलाई १ सय ७३ रनको लक्ष्य दिएको छ।
मलेसियाको बायुमास ओभलमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १ सय ७२ रन जोडेको हो। नेपालका लागि करण केसीले नटआउट ४० रन जोडे। उनले १४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। करणले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए। सोमपाल कामी ४ रनमा नटआउट रहे।
मध्यक्रमकका ब्याट्सम्यान शरद भेषवाकरले ३४ रन जोडे। उनले २८ बलमा २ चौका प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले २६ बलमा ३० रन जोडे। उनले ३ चौका प्रहार गरे। आरिफ शेख ८ र कप्तान पारस खड्का ५ रनमै आउट भए। उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ७ रनमै आउट भएका थिए।
ओपनर अनिलकुमार साहले २५ रन जोडे। उनले १७ बलमा ५ चौका प्रहार गरे। अर्का ओपरन विनोद भण्डारीले १८ बलमा २ चौका र १ छक्काको मद्दतले १५ रन बटुले।
बलिङमा थाइल्यान्डका पायथुस सनगार्डले ४ विकेट लिए। उनले शरद, दीपेन्द्र, पारस र आरिफलाई आफ्नो सिकार बनाएका थिए। यसअघि नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा आयोजक मलेसियालाई समान ८–८ विकेटले पराजित गरेको थियो।
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।















प्रतिक्रिया