
ललितपुर, २० असोज । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले बुंगमतीजस्ता सम्पदा बस्तीको मौलिक ढंगमा पुनर्निर्माण गर्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रमहरु ल्याएको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्पदा बस्तीभित्रका घरहरु मौलिक शैलीमा पुनर्निर्माण गर्दा प्रति घर ५० हजार रुपैयाँ थप रकम प्राप्त हुने प्राधिकरणको पछिल्ला निर्णयबारे जानकारी गराए । उनले सम्पदा बस्ती पुनर्निर्माणका लागि पूर्वाधार निर्माणमा पनि प्राधिकरणले सहयोग गर्ने बताए ।
अघिल्लो कार्यकालमा प्रधानमन्त्रीलाई बुंगमती ल्याएर यसको गुरुयोजना अनावरण गराएको स्मरण गर्दै ज्ञवालीले आफ्नो कार्यकालमा उक्त गुरुयोजनाअनुसार पुनर्निर्माण सम्पन्न गरेर प्रधानमन्त्रीबाट उद्घाटन गराउने आफ्नो इच्छा रहेको पनि बताए । सम्पदा बस्तीको महत्वबारे आफ्नो धारणा राख्दै उनले भने, ‘बुंगमतीको मौलिक रुपमा पुनर्निर्माण गर्दा यहाँ ठूलो संख्यामा स्वदेशी एवं विदेशी पर्यटक ल्याउन सकिन्छ जसले जीविकोपार्जनमा ठूलो टेवा पुग्नेछ ।’
कार्यक्रममा उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद पम्फा भूसालले बुंगमतीलाई समेत समेटेर एउटा सम्पदा पर्यटकीय चक्रपथ बनाउने योजना सुनाउँदै बंगमतीको मौलिक पुनर्निर्माणका लागि आफनो तर्फबाट सबै खालको पहल गर्ने आश्वासन दिइन् । -रासस












प्रतिक्रिया