
काठमाडौं, १८ असोज । बस सेवा ट्रावल एण्ड टुर प्रालि अन्तर्गतका सेवाग्राहीहरूले आफूले प्रयोग गरेको यात्राको सेवा शुल्क अवदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
बस सेवा ट्रावल एण्ड टुर मार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शुल्क संकलन तथा भुक्तान गर्न सक्नेछन् । यस व्यवस्था सँगै नजिकिदै गरेको नेपालीहरुको महान पर्व दशैमा आवतजावत गर्ने यात्रुहरुलाई सहज हुने विश्वास राखिएको छ ।
सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र बस सेवा ट्रावल एण्ड टुरका तर्फबाट अध्यक्ष पर्शुराम खनालले हस्ताक्षर गरेका छन् ।
तेह्र हजार भन्दा बढी एजेन्ट आउटलेट सञ्जाल भएको आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२’ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।
आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।
यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ ।
आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।















प्रतिक्रिया