
काठमाडौं, १८ असोज । हङकङको न्यु टेरीटोरीको ३३ औं तल्लाबाट नियालेको आकाशको परिधिको हेक्का राख्न जान्दैनन् उनी । त्यसरी नै नेपाली माटोको मायाको दायरा पनि थाहा छैन । ११ बर्षअघि काठमाडौंको मर्कनटाइल कार्यालयमा काम गर्दा उनलाई जीवनको चिन्ता थियो, अहिले जीवन सुध्रँदैछ, देश र जगत्को चिन्तामा छन् ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–७ मा जन्मिएका हुन् उनी । सुरेन्द्रमान घलेका परिचयका अनेक आधार तय भइसकेका छन् । नेपाली कला संस्कृति र समाजमा सक्रिय भएकाहरूले उनलाई एक हिसाबले चिन्छन्, राजनीति गर्नेहरू फरक कोणबाट । उनको शालिनता, सहयोगी भावना र मुलुकप्रतिको अगाध प्रेमलाई नजरअन्दाज नगर्दा उनको स्वस्थ्य परिचय हो– असल व्यक्ति ।
पत्नी चन्द्रकुमारी घले गुरुङको हङकङ आइडी भएका कारणले उनी त्यहाँ पुगेका हुन् । ‘उहाँको हङकङ आइडी थियो बोलाउनु भयो म गएँ । मैले पनि भर्खरै आइडी पाएको हुँ’, पत्नीतिर हेर्दै उनी खुल्छन्,‘सुरुमा जाँदा परिचय स्थापित गराउन कठिन थियो । अहिले विभिन्न संघ संस्थामा आवद्ध भएपछि नेपाली समुदायभित्र भिझ्न सकिएको छ ।’
निर्माण कम्पनीमा कामदार सुपरिवेक्षणको जिम्मेबारीमा छन् । जसरी कामदारको सुरक्षाका विषयमा उनी काममा घोत्लिनुपर्छ त्यसरी नै माटोको माया र देशको चिन्तामा घोत्लिन्छन् । भन्छन्,‘परदेशमा बस्नु व्यवाहारिक पक्ष त हो तर त्यहाँ बसे पनि माटोको माया अझ गाढा हुन्छ ।’

हङकङ–लमजुङ सेवा समितिमा सचिव छन्, उनी । गैर आवासीय नेपाली संघ हङकङको छुट्टै कमिटीमा सदस्य पनि छन् । जिल्लाको पहिचान र देशको माया दुवैमा उनको हात छ । त्यसैले भन्छन्,‘नेपालका जुनसुकै ठाउँ दुख्दा म जस्ता विदेशमा बस्ने हरेक नेपालीलाई चसक्क घोच्छ । मलाई चसक्क घोच्छ । सहयोगी हात अघि बढाउने विषयमा साथीहरू पनि अग्रसर बनिदिनुहुन्छ ।’
‘देशमा बसेका साथीहरूलाई त हरेक चिजको प्रत्यक्ष अनुभव हुन्छ । तर, हामी सुनेरै बढी चिन्तित हुन्छौं’ घले जोड्छन्,‘यहाँ बसेर देशप्रतिको प्रेम कति हुन्छ भन्ने थाहा नहुँदो रहेछ परदेशमा पुगेपछि पत्ता लाग्ने रहेछ । जसरी घरमा हुँदा आमाबुवासँगको प्रेमको हेक्का राखिन्न, टाढा भएपछि थाहा हुन्छ ।’
उनलाई यो पनि थाहा छ की कहिलेकाहीँ राम्रो मान्छे बनिरहँदा खुशी मान्छे बन्न नसकिँदो रहेछ । उनी नेपाली माटोका लागि सहयोगी छन् तर जब यहाँ प्रकोपमा नागरिकहरूको क्षति भएको सुन्छन्, पढ्छन् खुशी हुन सक्तैनन् । भन्छन्,‘यस्ता चिजले मन अस्थिर बनाइदिन्छ, दुख दिलाइदिन्छ ।’
लमजुङ उनको गृहजिल्ला हो । त्यहाँका लागि गरेका सहयोगका फेहरिस्त लामो छ । हिसाबकिताब पनि होला । तर, आफ्नो ठाउँको उन्नयनका लागि गरेका योगदानलाई यति र उती भन्ने छैन । त्यसैले त्यसका लागि उनको पहलमै बनाइएको छ– अक्षयकोष । त्यसैमार्फत नेपालका भूकम्पपीडितलाई औपचारिक र अनौपचारिक रूपमा सहयोग गयो । अर्कातिर, लमजुङका खेलकुद, विद्यालयलगायतका क्षेत्रमा पनि घलेको सहयोगी हात रोकिएका छैनन् ।
उनी हङकङमा पनि नेपाली संस्कृतिको जगेर्नाका लागि उत्तिकै सक्रिय छन् । एक महिनाको विदा लिएर आएका उनी भन्छन्,‘बाँचुञ्जेल, गर्न सकेसम्म सेवा गर्ने नै रहर छ ।’















प्रतिक्रिया