
काठमाडौँ, १६ असोज । नेपालीहरुको ठूलो चाड दशैँको मुखमा काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाका नागढुंगा–पिपलामोड सडक खण्ड एक हप्ताका लागि बन्द भएको छ । दैनिक हजारौँ सवारी चल्ने यो सडकखण्ड अबको एक सातासम्म रातिको समयमा बन्द हुनेछ ।
डिभिजन सडक कार्यालय काठमाडौ २ ले सडक मर्मत तथा सुधारका लागि भन्दै असोज १५ गतेदेखि २२ गतेसम्म प्रत्येक दिन बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मसडक खण्डमा सवारीसाधन चल्न रोक लगाइएको हो ।
डिभिजन सडक कार्यलयले तोकिएको समयमा सवारी व्यवस्थापन गरिदिन आग्रह गर्दै ट्राफिक व्यवस्थापनको लागि महानगरीय ट्राफिक महाशाखालाई पत्र समेत पठाएको छ ।

डिभिजनको पत्रानुसार ट्राफिक प्रहरीले गएराती नागढुंगा–पिपलामोड सडक हुँदै सवारी साधन आवतजावतमा रोक लगाएको थियो । बिहान ५ बजेपछि सडक खुल्ला गरिएसँगै धादिङ्ग–नागढुङ्गा र थानकोट–कलंकी हुदै चल्ने सवारी साधन चापमा चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
रातको समयमा धादिङ्ग र थानकोट क्षेत्रमा रोकिएका सवारी साधन बिहान ६ बजे बाट मात्रै सुचारु हुँदा धादिङदेखि कलंकी सम्म सवारी चापको बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सडक मर्मतको जिम्मा कृष कन्ट्रक्सनले लिएको छ । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–पिपलामोड–नागढुंगा सडकखण्ड अत्यधिक भार बोकेका गाडीहरुका खाल्डा पर्नुका साथै भास्सिएर कुलोमा परिणत भए पछि मर्मत तथा आवश्यक पिच गर्न लागिएको हो ।















प्रतिक्रिया