काठमाडौं, १० माघ । प्रेस चौतारी नेपालबाट स्थापित विभिन्न पुरस्कारका लागि सिफारिस समितिहरु गठन गरिएको छ ।
प्रेस चौतारी नेपालको शनिबार बसेको सचिवालय बैठकले आगामी माघ २२ गते स्थापना दिवसको घोषणा गर्ने गरी पुरस्कार सिफारिस समिति गठन गरेको हो । जस अनुसार, हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार सिफारिस समितिको संयोजकमा प्रा.चीरञ्जीवि खनाल तथा सदस्यमा टीका विष्ट र देवराज अर्याल रहेका छन् ।
यसैगरी, अग्नीशिखा स्मृति पत्रकारिता पुरस्कार सिफारिस समितिको संयोजकमा श्रीधर आचार्य तथा सदस्यमा राजेश राई र रामहरि सिलवाल रहेका छन् ।
यस्तै, वीरेन्द्र साह स्मृति युवा क्रियाशिल पत्रकारिता पुरस्कारका लागि शितल साह संयोजक र नरेन्द्र साउद तथा रामकुमार एलन सदस्य रहेका छन् ।
डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारको संयोजकमा सूर्यमणि गौतम रहेका छन् । यसैगरी, सदस्यमा गणेश पाण्डे र पवन बर्षा शाह रहेका छन् ।
बैठकले प्रेस चौतारी नेपालको पहिलो अन्तर्राष्ट्रिय शाखाका रुपमा रहेको कतार शाखालाई अनुमोदन गरेको छ । प्रेस चौतारीका सचिव एवं अन्तर्राष्ट्रिय शाखा संयोजक गणेश पाण्डेले गत महिना कतारमा गएर पहिलो विदेश शाखा स्थापना गरेका थिए ।
यसैगरी, बैठकले आगामी फागुन ८ गते दाङमा केन्द्रीय महिला भेला आयोजना गरिएको महासचिव माधव नेपालले जानकारी दिनुभयो ।
















प्रतिक्रिया