
-मिना बुढाथोकी
सल्यान, १४ असोज । दशैं तिहार नजिकिंँदै गर्दा यहाँको बजार अनुगमनलाई तिव्रता दिएको छ । चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमा आइतबार जिल्ला सदरमुकाम खलंगा बजारमा गरिएको अनुगमनका क्रममा चार वर्ष पुरानो सम्मको अखाद्य वस्तु फेला परेको छ ।
अनुगमनका क्रममा सन् २०१५ मा बनेको गोल्डी गरम मसला र सन् २०१६ मा बनेको जस्मिन चिल्ली पाउडरको प्याकेट बरामद गरिएको अनुगमन टोलीमा संलग्न प्रहरी निरीक्षक गिरिराज भण्डारीले जानकारी दिए ।
अनुगमनका क्रममा कुरकुरे ४९ पोका, गोल्डी मसला ५ पोका,जस्मिन चिल्ली पाउडर २५ पोका, टप विस्कुट ८ पोका,सुजी ३३ पोका,वाईवाई चाउचाउ एक पोका, काजु २ पोका,आलु चिप्स दुई पोका,पुकार गुटका एक प्याक्ेट र मिट मसला एक प्याकेट गरि पाँच हजार एक सय पाँच रुपैयाँ बराबरको अख बरामद गरिएको प्रहरी निरिक्षक भण्डारीले बताए ।
यस्तै अनुगमन समितिले अनुगमनका क्रममा मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता र नवीकरण, वस्तुमा लगाइएको लेवल, वस्तुको म्याद, बिक्री बिल दिने/नदिने लगायतका कुराहरुको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टण्डनले बताए ।
गत वर्षको भन्दा अहिले व्यापारी र उपभोक्ताहरु सचेत हुंदै गएको आफुले अनुगमनका क्रममा पाएको बताउदै उनले अहिले अखाद्यवस्तु पहिलेको तुलनामा कम हुँदै गएको बताए । ‘उपभोक्ता अधिकारको बारेमा अहिले सबै सचेत हुन थालेका छन्,’ उनले भने, ‘अहिले ग्राहक संगै व्यापारी पनि सजग हुंदै गएकाले अखाद्य वस्तु कम हुन थालेका छन् जुन हाम्रो लागि पनि सकारात्मक कुरा हो ।’
अनुगमनका क्रममा फेला परेका म्याद नाघेका अखाद्य वस्तुहरु जफत गरी नष्ट गरिएको छ । जिल्लाको सदरमुकाम खलंगा बजारको अनुगमन गरेर म्याद नाघेका अखाद्य वस्तुहरुको जफत गरेर नष्ट गरिएको हो ।
सामानहरुको जफत गर्दै उक्त टोलीले म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण नगर्न व्यापारीहरुलाई आग्रह गरिएको छ । बजारमा उपभोक्तालाई विभिन्न बहानामा झुक्याउने काम भइरहेको भन्दै नियमित रुपमा बजारको अनुगमन गरेर उपभोक्ताको हितमा कामलाई निरन्तरता दिनुपर्ने उपभोक्ता हित संरक्षण समितिका सल्लाहकार रामचन्द्र रेग्मीले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी टण्डनको नेतृत्वमा प्रहरी निरिक्षक गिरिराज भण्डारी, शारदा नगरपालिकाका जगत बहादुर घर्ती,कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि महेन्द्र बस्नेत, घरेलु तथा साना उद्योग विकास समिति सल्यानका लोक बहादुर बस्नेत, उपभोक्ता हित संरक्षण समितिका रामचन्द्र रेग्मी लगायतको टोलीले आज बजारको अनुगमन गरेको हो ।












प्रतिक्रिया