
-मिना बुढाथोकी
सल्यान, ११ असोज । छत्रेश्वरी गाउँपालिका वडा नम्बर–५ चौरपानीका शुशिला थापा र सिता थापाले वित्तीय साक्षरता सचेतना केन्द्रमा सहभागी भएपछि बचत गर्नुपर्छ भन्ने बारे थाहा पाएर अहिले नियमित बचत गर्न थालेका छन् । वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि नजिकमा रहेको साना किसान कृषि सहकारी संस्थामा आवद्ध भएर नियमिति बचत गर्न थालेपछि अहिले आप्नो दैनिकीमा समेत परिवर्तन आएको उनीहरु बताउँछन् ।
दलित विकास समाज सल्यानद्धारा सञ्चालन भएको पहल कार्यक्रम अन्तर्गत अहिले जिल्लाको एक नगरपालिका र दुई गाउँपालिकाका विकट ९ वटा वडाहरुमा विगत दुई वर्षको अवधिमा करिब एक हजार पाँच सय जनाले वित्तीय साक्षरता कक्षा लिएपछि बचत गर्न थालेको पहल कार्यक्रमका वित्तीय सेवा अधिकृत रमेश कुमार वलीले जानकारी दिए ।
वित्तीय साक्षरता कक्षामा बचत तथा जीवन उपयोगी सिपहरु सिकाइने भएकोले समुदायमा बचत व्यवस्थापनका लागि कोषेढुंगा सावित भएको सहकारी संस्थाका पदाधिकारीहरु बताउँछन् । २६ दिनसम्म चल्ने यो कक्षा समुदायमा रहेका विपन्न परिवारहरुका लागि कोषेढुंगा सावित भएको छ ।
दमाचौर साना किसान सहकारी संस्थाका अध्यक्ष देवी चन्दका अनुसार वित्तिय साक्षरताको कक्षा लिएपछि सदस्यहरुले ऋण लिंँदा पनि आफुलाई चाहिएको जति मात्र लिएका छन् । ‘वित्तीय साक्षरता कक्षाले सदस्यहरुको आर्थिक सुधार गर्न प्रभावकारी भूमिका खेलेको छ,’ उनले भने। बचत,ऋण,पारिवारीक बजेट निर्माण, सहकारी संस्थाहरुको बारेमा बुझाई र सहकारी संस्थाको क्षमता अभिवृद्धिपछि धेरै सदस्यहरु थपिएको उनले बताए ।
वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि नजिकका सहकारी संस्थाहरुमा सदस्य भएर नियमित बचत गर्न थालेको दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले जानकारी दिए । वित्तीय साक्षरता कक्षा लिएपछि सहभागीले नजिकका सहकारी संस्थामा वचत गर्न जान्छन् अहिले सम्म ११ सय वढिले सहकारी संस्थामा सदस्य वनेर वचत शुरु गरेको कार्यकारी निर्देशक पुनले बताए ।
अहिले कार्यक्षेत्र भित्र रहेका ६ वटा सहकारीबाट पनि वित्तिय साक्षरता कक्षा संचालन भई रहेको संस्थाका अध्यक्ष निम वहादुर नेपालीले जानकारी दिए । समुहमा वित्तिय साक्षरता कक्षा सञ्चालन भएपछि धेरैका आँखा खुल्न थालेको नेपालीले बताए ।












प्रतिक्रिया