
-मिना बुढाथोकी
सल्यान, १० असोज । सल्यानमा गत आर्थिक वर्ष ०७४/०७५ मा दुई सय ६५ जना महिलाले गर्भपतन गराएका छन् । चौथो सुरक्षित गर्भपतन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढा मगरले स्वास्थ्यमा नकारात्म असर नपर्ने र ज्यान जान बाट जोगाउनको लागि सुरक्षित गर्भपतनको सेवा अस्पतालले दिदै आएको बताए ।
गर्भको कारणले आमाको स्वाथ्यमा असर पर्ने वा ज्यान जाने खतरा देखिएमा भने जुनसुकै अवस्थामा पनि अस्पतालले गर्भपतन गर्न सकिने उनले बताए । शारदा नगरपालिकाका उपप्रमुख सावित्रा बस्नेतले विभिन्न खाले हिंसा र दुर्व्यवहारको शिकार भइरहेका महिलाले अझैपनि दुर्व्यवहार सहन नहुनेमा जोड दिइन् ।
उपप्रमुख बस्नेतले महिलाहरुले आफ्नो स्वास्थ्यको विशेष रुपमा ख्याल पुर्याउनु पर्ने बताइन् । पीडा जति सबै महिलाले नै खैप्दै आएको अवस्थामा गर्भपतनले स्वास्थ्यलाई ठूलो हानि पुर्याउने खतरा हुने भएकाले समयमै सचेत हुन आग्रह गरिन् ।
शारदा नगरपालिका–२ का वडा अध्यक्ष केशवसिं श्रेष्ठले असुरक्षित गर्भपतनले गर्दा महिलाहरुले स्वास्थ्यमाथि ठूलो खेलवाड भइरहेको बताए । यस्ता महिलाहरुलाई सबैले जोगाउन जरुरी रहेको भन्दे उनले सुरक्षित स्थानमा र सुरक्षित रुपले गर्भपतनबारे जानकारी सबैले राख्नु पर्ने र थाहा भएकाहरुले अन्य महिलाहरुलाई पनि यस बारे बताउनु पर्ने बताए ।
यस्तै लामो समयदेखि कार्यालयमा कार्यरत रही गर्भपतनको सेवा दिदै आएकी कोपिला रानाले कार्यालयले जिल्लामा दुई प्रकारको माध्यमबाट सुरक्षित गर्भपतन सेवा दिदै आएको बताइन् ।
९ हप्ता सम्मकोलाई औषधीको माध्यमबाट सुरक्षित गर्भपतन सेवा दिने गरेको र १२ हप्ता सम्मकोलाई औजारको माध्यमबाट सेवा दिरहेको उनले बताइन् । अहिले जिल्लाका विभिन्न ५ वटा स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा दिदै आएको अस्पतालले जनाएको छ ।












प्रतिक्रिया