४ कार्तिक २०८३, बुधबार

निर्मला पन्त प्रकरण : यज्ञराजको ‘नक्कली’ औंठाछाप गर्ने को हो ?

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निर्मला पन्तका बुवाआमा

काठमाडौँ, १० असोज । दुई महिना अघि बलात्कार गरी हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औँठाछाप रहेको रहस्य बाहिर आएको छ । त्यति मात्र होइन घटनास्थलमा बरामद भएको उनको कपडा समेत जलाएको पाइएको छ ।

निर्मलाको हत्या हुँदा उनका बाबु यज्ञराज भारतमा थिए । उनी १२ गते मात्र घर आइपुगेका थिए । तर, ११ गते नै उनका नाममा नक्कली औंठाछाप गरिएको रहस्य फेला परेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ स्वयंले यसको खुलासा गरेका हुन् । यद्यपी, अहिलेसम्म घटनामा संलग्नको पहिचान हुन सकेको छैन ।

‘लुगाहरु पनि जलाइएको रहेछ । यो त संरक्षण गर्नु पर्ने हो’, संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘११ गते मुचुल्का उठाइएको थियो । त्यसमा उनको बाबुको पनि औंठाछाप भेटिएको छ । जबकी उनी १२ गते मात्र भारतबाट आएका थिए ।’ शव भेटिएकै दिन ११ साउनमा प्रहरीले घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल पानीमा पखालिदिएको थियो भने घटनास्थलको पनि संरक्षण गरेको थिएन ।

पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन बुझाएको र त्यसका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने गृहमन्त्री थापाले समिति समक्ष बताए । उनले निर्मला हत्यामा तत्कालीन प्रहरी टोलीले लापरवाही गरेको समेत स्वीकार गरे ।

१० साउनमा साथीको घरमा पढ्न गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । हत्यारालाई कारवाही गर्न माग गर्दै कञ्चनपुरबासीले लगातार आन्दोलन गरेपछि सरकारले स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्दै अर्को टोली पठाएको छ ।

साथै प्रहरीको लापरवाहीबारे छानबिन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको छ । समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा एसपी डिल्लीराज विष्टसहित ६ प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ ।