काठमाडौं, ९ असोज । भारतको आगरामा जारी १८ वर्षमूनिका विद्यालयस्तरीय एसियन च्याम्पियन्सीप फुटबलमा नेपालको हारको यात्रा जारी रहेको छ । च्याम्पियन्सीप अर्न्तगत समूह ‘ए’मा रहेको नेपाल आफनो दोश्रो खेलमा सोमबार इन्डोनेसियासँग २–१ गोलले स्तब्ध भएको हो ।
आगरास्थित प्रिल्युड पब्लिक स्कुल स्टेडियममा भएको रोमान्चक खेलको पहिलो हाफमा नेपालले इन्डोनेसियालाई गोलरहित बराबरीमा रोकेको थियो । यद्धपि खेलको ५० औँ मिनेटमा राजन गुरुङले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । सो अग्रतालाई नेपाली टोलीले धेरै समय कायम राख्न सकेन् ।
५१औँ मिनेटमा इन्डोनेसियाका एलेनले गरेको सशक्त प्रहार नेपाली गोलरक्षक विष्णुकुमार केसी जोगाउन असफल भए । समान एक गोलको अवस्थालाई चिर्ने क्रममा ६७ औँ मिनेटमा अल्फएड्राले गोल थपेपछि इन्डोनेसियाको जित सुनिश्चित भएको थियो ।
प्रतियोगितामा अर्को चरण प्रवेशका लागि चीनले इन्डोनेसियालाई पराजित गर्नुपर्ने हुन्छ । नेपालले चीन र अफगानिस्तानलाई हराएपछि चीनले इन्डोनेसियालाई पराजित गर्दा मात्रै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनल खेल्न पाउनेछ ।
प्रतियोगिता अन्तर्गत समूह ‘ए’ मा थाईल्याण्ड, इन्डोनेसिया, अफगानिस्थान र चीन रहेका छन् । तीनवटा खेल जितेको थाइल्याण्ड नौ अंक सहित शीर्ष स्थानमा छ । इन्डोनेसिया ६ अंक सहित दोस्रो र चीन तीन अंकसहित तेस्रो स्थानमा छ ।
नेपाल र अफगानिस्थानको अंक विहीन अवस्थामा छन् । समूह ‘बी’ मा आयोजक राष्ट्र भारत, भुटान, दक्षिण कोरिया, मलेसिया र श्रीलंका रहेका छन् । समूह ‘बी’ मा दक्षिण कोरिया शीर्ष स्थानमा छ । मलेसिया दोस्रो, श्रीलंका तेस्रो र भारत चौथो स्थानमा छ । भुटानको अंक शून्य छ ।















प्रतिक्रिया