
काठमाडौं, ८ असोज । अन्तर पार्टी महिला सञ्जालले बलात्कार, हत्या हिंसा र विभेदका घटनामा संलग्न दोषीलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा अन्तर पार्टी महिला सञ्जालले पत्रकार सम्मेलन गरेर बलात्कार, हत्या हिंसामा संलग्नलाई पक्राउ गरेर कारवाही गर्नमा सरकार चुकेको आरोप लगाएको हो ।
सञ्जालकी अध्यक्ष नीलम बर्माले दुई महिना पहिले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको र हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन् ।
न्याय माग्न सडकमा निस्किँदा गोली खानुपर्ने स्थिति रहेको सुनाउँदै उनले भनिन्, ‘सरकारले भीड नियन्त्रण गर्न अन्य तरिका हुँदाहुँदै पनि गोलि हान्ने र समाजलाई उत्तेजित पार्ने काम गरेको छ्, न्याय पाउन आन्दोलन गर्नैैपर्ने स्थिति किन आउँदै छ ? के गरिबले यसरी न्याय पाउन सक्छन् ?’
त्यस्तै सञ्जलाकी महासचिव कल्याणी रिजालले ५१ प्रतिशत नारीहरुको उपस्थिति रहेको नेपालमा महिला हिंसाका घटनाका बारेमा सरकार गम्भीर नदेखिएको गुनासो पोखिन् ।
उनले भनिन्, ‘हाम्रो देशमा ५१ प्रतिशत महिला छन्, के हामी महिला भएर जन्मिनु दोष हो ? के हामी राम्री हुनु दोष हो ? के हामीले पुरुषको ईच्छा अनुसार आफूलाई समर्पण गर्नैपर्ने हो ? शारीरिक सम्बन्ध गर्न तयार नहुँदा एसिडको शिकार हुनैपर्ने हो ? यो कस्तो खालको हिंसा हुँदैछ ? मुलुकमा गणतन्त्र आईसकेको छ । यस्तो प्रकारको हमला, हत्या र बलात्कारलाई सरकारले नियन्त्रण र निरुत्साहित पार्न सक्नुपर्छ ।’












प्रतिक्रिया