
काठमाडौँ, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीको भविष्यप्रति औंला उठाएका छन् । जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभामा बोल्दै अध्यक्ष प्रचण्डले अहिले जनआकांक्षा पुरा गर्ने काम गर्न नसके जनताले विकल्प खोज्ने बताए ।
उनले अहिले जस्तो अनुकुल अवस्थामा पनि जनअपेक्षाअनुरुप कार्य गर्न नसकिए अर्को पटक जनताले नेकपालाई नपत्याउने बताएका हुन् । ‘अत्यधिक बहुमत हुँदा पनि जनआंकाक्षा पूरा गर्न नसकिए जनता नेकपाको पक्षमा रहँदैनन्, किन पत्याउने जनताले ?’, उनले भने । नेकपा नेतृत्वको वर्तमान सरकारले परिणाम देखिने काम नगरे सिद्धिने खतरा रहेको अध्यक्ष प्रचण्डको टिप्पणी छ ।
‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेको छ, तलदेखि माथिसम्म नै हाम्रो सरकार छ, यतिबेला गर्न नसके दोष कसलाई दिने ? हामीले काम गर्न सकेनौं भने जनताले हामीलाई पत्याइदिरहनु पर्दछ भन्ने आवश्यकता छैन’, उनले भने, ‘ जनताले विकल्प खोज्छन्, यो त कम्युनिष्ट पार्टीका लागि निकै दुर्भाग्यको विषय हुन्छ ।’
फरक प्रसंगमा प्रचण्डले चीन, भारत र नेपाल मिलेर संयुक्त रुपमा ठूला परियोजनाहरु निर्माणका लागि अहिलेको समय अनुकुल भएको बताए ।















प्रतिक्रिया